क्यानडाको सहयोगमा दाङमा स्कुल



लमही : दाङको एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि विदेशी दातृ निकायले सहयोग गरेको छ । क्यानडा सरकारको १५ लाख र गाउँपालिकाको १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण भइरहेको छ । 

 

भवन निर्माणमा क्यानडा सरकारले आफ्नै कामदार खटाएको छ । भवन निर्माणको ८० प्रतिशत काम पूरा गरेको विद्यालयका प्रधानअध्यापक रामसुरत यादवले जानकारी दिए । ‘विदेशी कामदार खटिनुभएको छ’ उनले भने, ‘बीस दिनमै चारकोठे भवन निर्माणको ढलान सकिएको छ ।’ अब २० दिनमा सबै काम पूरा हुने उनले बताए । कात्तिकको पहिलो साता निर्माण सुरु भएको हो । कम्प्युटर कक्ष, सूचना प्रविधि कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापनका लागि भवन निर्माण हुनलागेको यादवले बताए ।

 

विद्यालयमा विद्यार्थीको संख््या वृद्धि भएको तर भवन जीर्ण हुँदा समस्या भएपछि विदेशी लगानीकर्तासँग समन्वय गरेर भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । ‘विद्यार्थीको संख्या धेरै छ’, उनले भने, ‘तर भवन जीर्ण हुँदा पठनपाठनमा समस्या थियो, त्यसैले भवन निर्माणमा विदेशी लगानी पनि भित्र्याएका हौं ।’

प्रअ यादवका अनुसार अहिले विद्यालयमा जम्मा एक हजार ६ सय  विद्यार्थी अध्ययनरत छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने तथा प्रविधिमैत्री विद्यालय बन्नेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्