विवाहपञ्चमीलाई धमाधम होटल बुकिङ



जनकपुरधाम : रामजानकीको विवाहमहाेत्सवमा सहभागी हुन आउनेले जनकपुरमा अग्रिम होटल बुकिङ गर्ने क्रम सुरु भइसकेको छ । अन्य समय वास बस्न आउने पर्यटकको प्रतीक्षामा दिन काट्ने साना लजका कोठा पनि प्रायः सबै बुकिङ भइसकेका छन् । होटल बुकिङ गर्नेमा स्वदेशीका साथै विदेश पर्यटक पनि छन् ।

 

यस वर्ष जनकपुरमा विवाह पञ्चमी मेला मंसिर २० मा सुरु हुँदैछ । विवाहोत्सवको दिन मंसिर २६ गते भगवान राम र सीताको स्वयंवर हेर्न रात्रिकालीन वासका लागि धमाधम कोठा बुक भइरहेको होटल सीता प्यालेसका राजनले बताए । जनकपुरका झन्डै दुई दर्जन स्टार होटलका प्रायः सबै कोठा मंसिर २५ र २६ गतेका लागि अहिलेदेखि नै बुक भइसकेका छन् । 

जनकपुरको सबैभन्दा ठूलो भनिएको होटल सीता शरणका कोठा पनि सबै बुक भइसकेका छन् । होटल सीता शरणका म्यानेजर कमल सिंहले भने, ‘२५ र २६ गतेका लागि होटलका सबै कोठा बुक भइसकेका छन् ।’ सिंहका अनुसार भारत र नेपालका विशिष्ट व्यक्तित्वले पनि होटल बुक गराएका छन् । 

 

जनकपुरका पुराना होटल रामा, वेल कम, सीता प्यालेस, मानकी, नयाँ खुलेको होटल दरबारका कोठा पनि बुक भइसकेको ती होटलले जनाएका छन् । जनकपुर जिरो माइलमा रहेको होटल अन्नपूर्णका सञ्चालक नीरज साहले पहिलेपहिले होटलमा बस्नेगरी भारतीय दर्शनार्थी आउने गरेकोमा यसपटक नेपालीले पनि उल्लेख्य संख्यामा होटल बुक गरेको बताए ।

जनकपुरमा अहिले साना होटल र लजमा एक रात बास बस्न ८ सयसम्ममा पनि कोठा पाइन्छ भने ठूला होटलमा ७ हजारसम्मको स्विट रूम उपलब्ध छन् । यतिबेला जनकपुरका हाेटल व्यवसायी विवाहमहाेत्सवमा सहभागी हुन अाउने पाहुनाकाे स्वागतका लागि हाेटल सिँगार्न पनि व्यस्त छन् ।

मेलामा सहभागी हुन आउनेहरुमध्ये आफन्त भएकाहरु आफ्नो नातागोताका घरमा बास बस्ने गर्छन् भने साधुसन्तहरु आफ्ना जातीय कुटी र मन्दिरमा बास बस्छन् ।

भारतबाट आउने उच्च अधिकारीहरुका लागि भारतीय दूतावासले ठूला होटलमा बासको व्यस्थापन गरेको हुन्छ । सामान्य आर्थिक अवस्थाका भक्तजनले मन्दिर र टहरामा रात बिताएर भए पनि उत्साहपूर्वक विवाह महोत्सवमा सहभागी हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्