कानुनकै अड्चनका कारण विकासले गति लिएन : मुख्यमन्त्री राउत



जनकपुरधाम : जनकपुरधाम प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विकासको काममा कानुन बाधक नभई साधक बन्नुपर्ने बताएका छन् ।  

सर्वोच्च बार एसोसिएशनले आज जनकपुरमा आयोजना गरेको कानुन र विकाससम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रमको उद्घाटनमा मुख्यमन्त्री राउतले कानुनकै अड्चनका कारण कतिपय विकासका काम प्रभावित भएको बताएका छन् । साथै उनले त्यसमा सुधार ल्याउन आवश्यक भएके पनि उल्लेख गरेका छन् । 

 

सभ्य समाज, सुशासन र विकास निर्माणमा कानुनलाई सहजकर्ता बनाउनुपर्नेमा त्यसो हुन सकेकोप्रति उनले चिन्ता व्यक्त गरे । सार्वजनिक खरिद ऐनकै कारण विकासका काम प्रभावित भइरहेको प्रशस्तै उदाहरण रहेको भन्दै उनले सुधारतिर सम्बन्धित पक्षले चासो नदेखाउनु दुःखद रहेको बताए । 

 

उच्च अदालतका न्यायाधीश र अधिवक्ताको विशेष सहभागिता रहेका कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशभरि विकासका कमले गति नलिएको अवस्थामा अदालतले पनि यस कार्यमा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । 

 

सर्वोच्च बार अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश शिवनारायण यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, नेकपा नेता एवं प्रदेशसभा सदस्य सत्यनारायण मण्डल, जनकपुर उपमहानगर उपप्रमुख रीता झासहितको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्