जनकपुरमा जेसिस अधिवेशनको तयारी



जनकपुरधाम : जनकपुरमा नेपाल जेसिसको ४५औं महाधिवेशनको तयारी सुरु भएको छ । महाधिवेशन पुस ७ गते सुरु हुने कार्यक्रम छ । 

यसअघि बिहान उद्घाटन हुने गरेको अधिवेशन यसपटक भने साँझ ४ बजे उद्घाटन गर्ने कार्यक्रम छ । जनकपुर जेसिसले उद्घाटन समारोह जानकी मन्दिर परिसरमा नै सञ्चालन गर्ने तयारी गरेको थियो । प्राविधिक समस्याका कारण कार्यक्रम मन्दिरबाट करिब १ किलोमिटर दूरीको तिरहुतिया गाछीमा सञ्चालन हुने भएको छ । यसअघि जनकपुर मन्दिरमा नै उद्घाटन गर्ने भनी उपयुक्तताका हिसाबले साँझको समय तय गरिएको थियो । 

टाढाबाट आउने जेसिसकर्मीका लागि पनि उद्घाटनकै दिन हिँडेर आइपुग्ने भएकाले साँझको समय तय गरिएको महाधिवशेनका उपनिर्देशक मनिषरमन शाहले बताए । महाधिवेशनमा देशभरबाट करिब २२ सयजना सहभागी हुने जनकपुर जेसिजका अध्यक्ष जितेन्द्र महासेठले बताए । महाधिवेशनको उद्घाटन कोबाट गराउने भन्ने एकदुई दिनमा तय हुने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्