मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु



काठमाडौंः कलामार्फत सांस्कृतिक सम्बन्धलाई निकट ल्याउने उद्देश्यका साथ ३ दिन कला प्रदर्शनी सुरु भएको छ । ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा सो प्रर्दशन शनिबारबाट सुरु भएको जानकारी मिथिली येँ आर्ट ग्यालरीका संस्थापक श्यामसुन्दर यादवले दिए । 

 

प्रदर्शनीको उद्घाटन प्रा.डा.अभि सुवेदीले गर्दै सांस्कृतिक सम्बन्ध बिस्तारमा कलाले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।  प्रा.डा. सुवेदीले कला र संस्कृतिले राष्ट्र–राष्ट्रलाई जोड्न मद्दत गर्ने बताए । उनले भने, ‘प्रदर्शनीमा राखिएका कलाले ती देशको कलाको पछिल्लो अवस्थालाई नजिकबाट नियाल्न सहज भएको छ ।’ 

 

प्रदर्शनीमा ६ जना बंगलादेशी र एक अमेरिकी कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । फोकस बंगलादेशको आयोजनामा भएको उक्त प्रदर्शनीमा ४० थान फरक फरक माध्यम र शैलीका चित्र राखिएको छ । बंगलादेशका कलाकारले जलरङमा सिर्जना गरेका चित्रले त्यहाँको प्राकृतिक र सांस्कृतिक विषयलाई चित्रण गरेको पाइन्छ ।  

 

प्रदर्शनीमा एम.डी. कौसर हुसेन, मफुजा ब्युटी, सहनाज बेगम साहि, मसुद अहमद, मसुदा अहमद तथा अमेरिकी कलाकार जिम म्याथ्युका कलाकृति राखिएको ग्यालरी संस्थापक एवं यादवले जानकारी दिए । उनले नेपाली कलाकारलाई विदेशमा अवसर प्रदान तथा विदेशी कलाकारलाई नेपालमा ल्याइ विविध कार्यक्रमको आयोजना ग्यालरीले गर्दै आएको बताए ।  

 

उद्घाटन कार्यक्रममा फोकस बंगलादेशका प्रमुख तथा कलाकार कौशर हुसेनले नेपाल र बंगलादेशको सांस्कृतिक सम्बन्धलाई नजिक ल्याउन प्रदर्शनीले सहयोग गर्ने विचार व्यक्त गरे । कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष तथा उर्बिनो एक्वारिलोका नेपाल प्रमुख केशवराज खनालले कलामार्फत भाइचाराको सम्बन्धलाई मजबुत बनाउन सहयोग गुग्ने धारणा राखे । उनले भने, ‘नेपालमा हुने यस्ता अन्तर्रा्ष्ट्रिय प्रदर्शनीले कलालाई चलायमान बनाउन मद्दत पुग्दछ ।’

 

प्रतिक्रिया दिनुहोस्