
प्रतिकात्मक तस्बिर
बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकामा १ करोडमा पालिकास्तरीय खेल मैदान बन्ने भएको छ ।
निर्माण कार्य अघि बढिरहेको छ । गाउँपालिकाको आर्थिक वर्षको १५ लाख बजेटबाट मैदान बन्ने छ । गाउँपालिकाको वडा ३ श्रीकोट र वडा ७ देउलेकको सीमा लवलेकमा खेल मैदान बनिरहेको छ । मैदान दुई सय मिटर चौडाइ र चार सय मिटर लम्बाइ रहने छ ।
थप आवश्यक बजेट प्रदेश र संघीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । सुविधासम्पन्न बन्ने खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजना राखेको अगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उनले जानकारी दिए ।
खेलमैदान निर्माणमा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेश प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोगको आश्वासन दिएका छन् । खेलमैदान १ करोड लगानीमा बन्दै छ ।