प्रदेश २ नाम विवाद : सामाजिक सञ्जालमा मधेस भर्सेस मिथिला



काठमाडौं : प्रदेश २ मा प्रदेशको नामसम्बन्धी विवाद बढ्दै गएको छ । प्रदेशसभामा प्रदेशको नाम के राख्ने भन्ने विषयमा प्रदेशसभा सदस्यले कुनै बहस नगरे पनि सामाजिक सञ्जालमा भने यस विषयले राम्रै स्थान पाएको छ । 

विशेषगरी ‘मधेस’ र ‘मिथिला’ शब्दका पक्षविपक्षमा देखिएको विवादले समयसमयमा सामाजिक सञ्जाल तातिने गरेको छ । मिथिलासँग भावनात्मक सम्बन्ध रहेको पक्षले प्रदेशको नाम मिथिला राख्नुपर्ने आवाज उठाइरहेको छ भने अर्को पक्षले त्यसको विरोध गरिरहेको छ । 

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा युवा अभियानीदेखि वरिष्ठ पत्रकार र विद्वान्सम्म प्रदेशको नामसम्बन्धमा आआफ्ना तर्कसहित प्रस्तुत भइरहेका छन् ।

प्रदेश २ को नाम मिथिला हुनैपर्ने अडानमा रहेकाहरुलाई लक्षित गर्दै गोरखापत्रका पूर्वप्रधानसम्पादक सीताराम अग्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मिथिला राज्यको नाममा आत्मघाती संकीर्ण खेल छ । यसले कसैलाई फाइदा पुर्याउँदैन । मधेसमा जातीय अन्तरविरोध बढिरहेछ ।’

मिथिलामा जातीय पहिचानलाई हावा दिन खोजिएको आरोप लगाउँदै अग्रहरीले मैथिल ब्राह्मणहरुको सोचको दायरा साँघुरिँदै गएको टिप्पणी गरेका छन् । 

उनले मिथिला मधेसको प्राणवायु रहेको र मिथिलाबिना मधेसको कल्पनासमेत गर्न नसकिने बताउँदै मधेसमा मैथिल सभ्यतासँगै भोजपुरा सभ्यता र अवध सभ्यता पनि रहेको उल्लेख गरेका छन् । 

मधेसी जनताले मधेसको नाममा लाठी, गोली खाएको र मिथिलावासीले पनि मधेसको नाममा सहादत दिएको उल्लेख गर्दै उनले टिप्पणी गरेका छन्, ‘सहादत दिनेमा कोसीपारि र नारायणीपारिका मधेसी पनि छन् ।’

प्रदेशको नामकरण गर्दा इतिहासलाई बिर्सन नहुने तर्क राख्दै पत्रकार मनोज झा मुक्ति लेख्छन्, ‘के प्रदेश २ मिथिलाको भूगोल होइन ?’ उनी अग्रहरीको भनाइको खण्डन गर्दै थप्छन्, ‘कोसीपारि र नारायणीपारिकाहरुले यी ८ जिल्ला (प्रदेश २ का) लाई मात्र मधेस बनाउन सहादत दिएका थिए ?’

केही दिनअगाडि मात्रै उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम मधेस प्रदेश राख्नुपर्ने बताएका थिए । मन्त्री यादवको भनाइको पनि प्रदेश २ मा चर्को आलोचना भएको थियो । 

अहिले प्रदेश २ को नाम मध्य मधेस राख्नुपर्ने तर्क गर्ने समूह पनि देखिएको छ भने अर्को एउटा समूहले मिथिला मधेस नाम राख्नुपर्ने बताउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्