अब गैरकानुनी स्वास्थ्यसंस्थालाई त्यसै छाडिन्न : प्रजिअ कँडेल



जनकपुरधाम : धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जिल्लामा कानुनविपरीत सञ्चालनमा रहेका अस्पताल तथा क्लिनिकलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट जारी अनुगमनका क्रममा कानुनी रुपमा गलत गर्नेको पहिचान गरी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे । 

जनकपुरमा आइतबार आयोजित ‘वैदेशिक रोजगार र सामाजिक चुनौती’ विषयक अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी कँडेलले वैदेशिक बरोजगारीका क्रममा विदेश जाने व्यक्तिलाई अस्पताल र क्लिनिकले गलत रिपोर्ट दिनेगरेको गुनासो आएको जनाउँदै उनले भने, ‘म धनुषा आउनेबित्तिकै क्विक रेस्पोन्स टिम निर्माण गÞरी जिल्लावासीलाई छिटोछरितो सेवा दिन सुरु गÞरिसकिएको छ ।’

धनुषा जिल्ला प्रशासन कार्यालयले अहिले प्रत्येक दिन सहायक प्रमुख जिल्ला अधिकारीसहित पाँचजना प्रशासकीय अधिकृतलाई बजार, पसल, कार्यालयसहितको अनुगमनमा खटाएको प्रजिअ कँडेलले जानकारी दिए । 

वैदेशिक रोजगारीमा जानेको संख्या धनुषामा उच्च रहेको बताउँदै कँडेलले थपे, ‘वैदेशिक रोजगारीमा जाँदा, त्यहाँ काम गर्दा र फर्किंदाका तीन चरणलाई विस्तृत अध्ययन गरेर एउटा दीर्घकालीन योजनाअनुरूप अगाडि बढ्ने हो भने वैदेशिक रोजगारीलाई जोखिमरहित बनाउन सकिन्छ ।’

उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सीप सिकेर जानुपर्ने, विदेशमा रहँदा कागजपत्र सुरक्षित राख्नुपर्ने र आफ्नो देशको दूतावास तथा नेपालीका संगठनबारे जानकारी राख्नुपर्नेमा जोड़ दिए ।

कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (मित्र धनुषा) का संयोजक रामकुमार कर्णले २०७४÷०७५ मा धनुषाबाट १७ हजार १ सय ८८ पुरुष र ५४ महिला वैदेशिक रोजगारीमा गएको जानकारी दिए । आर्थिक वर्ष २०७३÷०७४ मा धनुषाबाट ३४ हजार १ सय ९० पुरुष र ९६ महिला वैदेशिक रोजगारीमा गएका थिए । 

कार्यक्रममा क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) धनुषाकी अध्यक्ष रिंकु (गायत्री) मिश्र, सामी परियोजनाकी सविता शर्मा, पत्रकार महासंघ धनुषाकी उपाध्यक्ष मनिका झा, जिल्ला प्रहरी कार्यालय धनुषा महिला सेलकी पूर्वकर्मचारी सुभद्रा आलेसहितले सुरक्षित वैदेशिक रोजगारीबारे विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्