जनकपुरमा घुम्ने ठाउँ छन्, घुमाइदिने छैनन्



जनकपुर : प्रदेश २ को अस्थायी राजधानी बनेसँगै जनकपरधाममा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा टुरिस्ट गाइडको संख्या अत्यन्त न्यून छ ।

 

पर्यटक आफैं ठाउँ खोज्दै र भौंतारिँदै हिँडेका देखिन्छन् । तर, जनकपुरमा अटोरिक्सा भित्रिएसँगै पर्यटकका नजिकका साथी बनेका छन् तिनका चालक । पर्यटकलाई गन्तव्यमा पुर्याउनेदेखि उनीहरूलाई जनकपुरका विभिन्न ठाउँ घुमाउने काम उनीहरूले नै गर्दै आएका छन् ।

 

ऐतिहासिक पर्यटकीय नगरी जनकपुरधाममा घुम्ने ठाउँको कमी छैन । तर, गाइड अभावमा पर्यटकलाई असहज छ । ठाउँ भएर पनि घुमाइदिने मान्छे नहुँदा उनीहरू सकसमा छन् । तर, रिक्सा चालकले पर्यटकको बिडो थाम्न थालेका छन् । पर्यटकलाई कहाँ लैजाने कहाँ राख्ने उनीहरू नै जिम्मा लिन्छन् । 

जनकपुरमा आउने प्रायः पर्यटक भारतीय हुने गर्छन् । भाषाको समस्या यहाँ छैन । तर व्यावसायिक पर्यटक गाइड अभावमा उनीहरूलाई समस्या पर्दै आएको छ । न्यून शूल्कमै रिक्सा चालकले पर्यटकलाई विहार गराइदिने गर्छन् । ६० देखि एक सय रुपैयाँमै उनीहरू पर्यटकलाई घुमाउन राजी हुन्छन् ।

 

रिक्साचालक सावन साह भन्छन्, ‘कम पैसामै हामी धेरै ठाउँ घुमाइदिन्छौं ।’ पगलाबाबा र गोपाल धर्मशालादेखि रामजानकी विवाहस्थलबाट घुमाउन सुरु गरिने साह बताउँछन् । 

 

जमकपुरमा रहेका प्रमुख मन्दिर विहारकुण्ड, तिरुपति बालाजी लक्ष्मीनारायण मन्दिर, दुलहा दुलही मन्दिर, संकटमोचन, जानकी मन्दिर, विवाहमण्डप, लक्ष्मण मन्दिर, राजदेवी, राम मन्दिर, जनक मन्दिर, गंगासागर, गंगा आरती, स्वर्गद्वारी भूतनाथ मन्दिर, धनुषसागर,  पुरुषोत्तम मन्दिर, र दूधमति नदीसमम् घुमाउने गरेको रिक्साचालक बताउने गर्छन् । जाडोयाम सुरु भएसँगै जनकपुरमा पर्यटकको संख्या ह्वात्तै बढ्ने गर्छ । अबको तीन महीनासम्म यहाँ भारतीय पर्यटकले ढकप्पै छाप्ने गर्छ । 

जनकपुरमा तीन वर्षदेखि रिक्सा चलाउँदै आएका ललितकुमार मण्डल भन्छन, ‘केही पैसा लिएर हामीले पर्यटकलाई गन्तव्यसम्म पुर्याउँदै आएका छौं ।’ जनकपुरमा एकदमै कम टुरिस्ट गाइड रहेका बताउँछन् मण्डल ।

जनकपुरमा पर्यटक तान्न यहाँको सरकारले कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासोसमेत गर्दै आएका छन् ।

 

‘पर्यटक त आउछन्, तर कहाँ लैजाने कसरी उनीहरूलाई सत्कार गर्ने भन्नेबारे कसैलाई थाहा छैन । यहाँको इतिहास र जीवनशैलीबारे बताइदिने मान्छे नहुँदा ऐतिहासिक भएर पनि यो ठाउँ ओझेलमा परेको छ ।’ नागरिक अगुवा सुशील कर्ण गुनासो गर्छन् । यसरी पर्यटकलाई घुमाउने रिक्साचालकले यहाँका ठाउँ चिनाउँदा गलत व्याख्या पनि हुन सक्नेतर्फ सरकारवालले चिन्तासमेत व्यक्त गर्दै आएका छन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणबाट उल्लेख्य मात्रा भारतीय पर्यटक बढेको भन्दै यसलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिन्छन्, ‘राजपा नेपालका प्रवक्ता कृष्णा सिंह ।

यसका लागि उपमहानगर नै तातिनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘स्थानीय सरकारले पर्यटक घुमाउने दुई–चार ओटा गाडी राखेर भए पनि पर्यटक संख्या बढाउनुपर्छ ।’

 

जनकपुरमा तीन दर्जनको हाराहारीमा रहेका ट्राभल एन्ड टुर्स कम्पनी भए पनि उनीहरूको काम टिकट काट्ने शिवाय छैन । पर्यटकलाई बढीभन्दा बढी कसरी भित्र्याउन सकिन्छ, यसका लागि सरोकारवाला निकाय र सम्बन्धित पक्षले बेलैमा सोच्नुपर्ने अवस्था आइसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस्