सवारी दुर्घटना कसका कारण ? सरोकारवालाबीच आरोपप्रत्यारोप



कैलाली : सवारी दुर्घटनामा निरन्तर वृद्धि भइरहे पनि सम्बन्धित पक्ष भने एकअर्कामाथि आरोपप्रत्यारोप लगाउनमै व्यस्त देखिन्छन् । 

यातायात मजदुरले सवारी दुर्घटना हुनुमा सडकको अवस्था, सवारी चाप र तेस्रो पक्ष बढी जिम्मेवार रहेको दाबी गर्ने गरेका छन् भने ट्राफिक प्रहरीले प्रायः चालकको लापरबाही र तीव्र गति नै दुर्घटनाको प्रमुख कारण रहेको बताउँदै आएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सुुदूरपश्चिम यातायात बस व्यवसायी संघ, सुदूरपश्चिम मजदुर भलाइ कोष र नेपाल यातायात मजदुर संघले शनिबार धनगढीमा संयुक्त रूपमा आयोजना गरेको ‘दुर्घटना न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा दुई पक्षबीच जुहारी नै चल्यो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख केदार रजौरेले सुदूरपश्चिम प्रदेशमा ७६ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार नेपालमा हुने सवारी दुर्घटनामध्ये ७४ प्रतिशत चालकको लापरबाहीका कारण र तीव्र गतिका कारण १६ प्रतिशत दुर्घटनामा हुने गरेका छन् ।

पछिल्ला पाँच वर्षमा नेपालमा सवारी दुर्घटनामा १० हजार पाँच सयजना भन्दा बढीको ज्यान गएको प्रहरी उपरीक्षक रजौरेले बताए । उनले पछिल्लो १० वर्षको अवधिमा १९ हजारभन्दा बढी नेपालीको सवारी दुर्घटनाका कारण मृत्यु भएको जानकारी दिए । उनले भने, ‘१० वर्षे माओवादी युद्धभन्दा बढी खतरनाक सवारी दुर्घटना भएको छ ।’

उनले नगन्य मात्रामा सडकको अवस्था र तेस्रो पक्षका कारण सवारी दुर्घटना हुने गरेको बताए । उनले सवारीचालकमात्रै सचेत भएमा सवारी दुर्घटनामा उल्लेख्य कमी आउने दाबी गरे ।

यातायात मजदुर संगठन भने ट्राफिक प्रहरीको दावी स्वीकार गर्ने पक्षमा छैन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम राईले भने, ‘सवारी दुर्घटनाका प्रमुख कारणमा सवारीसाधन बढी चाप र बिग्रेका सडक हुन् ।’

उनले नेपालमा हाल ३२ लाख २१ हजारभन्दा बढी सवारीसाधन गुडिरहेको र सडकको लम्बाइ जम्मा १९ हजार किलोमिटर रहेको बताए । उनले गत वर्षमात्रै चार लाखभन्दा बढी सवारीसाधन नेपालमा भित्रिएको तर सोही वर्ष जम्मा तीन सय ४६ किलोमिटर मात्र सडक कालोपत्रे भएको दाबी गरे । अध्यक्ष राईले एक वर्षमा नौ हजार पाँच सय किलोमिटर सडकमात्रै मर्मत भएको बताए ।

सवारी चालकको लापरबाहीका कारण पनि केही सवारी दुर्घटना हुने गरेको स्विकार्दै अध्यक्ष राईले संगठनले यातायात मजदुर शुद्धीकरण योजना लागू गरेको बताए । चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको भन्ने आरोप बढी आएकाले चालकहरूले मदिरा सेवन गरी सवारी नचलाउने पहिलो प्रतिबद्धता गराइरहेको उनको भनाइ थियो ।

 

गाडी चलाउँदा फोन नचलाउने, महिला, ज्येष्ठ नागरिक र अपांगलाई सम्मान गर्ने, फोहोर शब्द नबोल्ने, सभ्य भएर यात्रुमाझ प्रस्तुत हुने, ट्राफिक नियम पालना गर्ने, सवारीसाधन तीव्र गतिमा नकुदाउनेलगायतको प्रतिबद्धता गराइरहेको अध्यक्ष राईले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले यातायात दुर्घटना हुनुमा चालकमात्रै दोषी नभएर सवारीधनी पनि जिम्मेवार रहेको बताए । उनले सवारीधनीले चालकसँग राम्रो व्यवहार नगर्ने र सवारीसाधन मर्मत नगर्ने, अनुभवी चालक नराख्ने गर्नाले दुर्घटना हुने गरेको उनको भनाइ थियो ।

मालिका यातायात व्यवसायी संघका अध्यक्ष अनन्तराज जोशीले चालक, तेस्रो पक्ष र प्राविधिक कारण दुर्घटना हुने गरेको बताए । उनले चालक र तेस्रो पक्ष सजग भएमा दुर्घटना न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे । सडक र सवारीसाधन मर्मत गर्नुका साथै यात्रुहरूले सडकमा चनाखो भएर हिँडेमा दुर्घटनाकाे सम्भावना कम हुने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्