रेलसेवा उद्घाटन स्थगित



जनकपुर : विवाह पञ्चमीको अवसरमा पारेर जनकपुर–जयनगर रेलसेवा उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । विवाह पञ्चमी यसपटक मंसिर २६ गते छ । जनकपुर क्षेत्रमा विशेष महत्वको दिन विवाह पञ्चमीका अवसरमा जनकपुरमा विशाल मेला लाग्छ । सोही अवसर पारेर रेलसेवा उद्घाटन गर्ने योजना रेल विभागले बनाएको थियो ।

‘विवाह पञ्चमीका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट रेलसेवा उद्घाटन गराउने हाम्रो योजना थियो । नभए भारत सरकारका केन्द्रीय वरिष्ठ मन्त्रीबाट उद्घाटन गराऔं भन्ने थियो,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘कुराकानी पनि भइरहेको थियो । मोदीजी आउने लगभग तय भइसकेको थियो । तर भारतमा व्यस्त भई समय मिलाउन नसकेका कारण उहाँहरू आउन नसक्ने भएपछि विवाह पञ्चमीका दिन हुने भनिएको रेलको उद्घाटन स्थगित गरिएको छ ।’

 

मोदी नआउने भएपछि मुख्यमन्त्री योगी आदित्यनाथले उद्घाटन गर्ने चर्चा पनि चलेको थियो । तर यसमा विवाद भएपछि केन्द्र्र सरकारले विज्ञप्ति नै जारी गरी त्यस्तो कुनै योजना नभएको भन्दै स्पष्ट पार्नुपरेको थियो । 

हाललाई स्थगित भए पनि छिटै नै सेवा उद्घाटन हुने मिश्रले बताए । जनकपुर–जयनगर रेल्वेमा अझै निर्माणको कतिपय काम जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्