‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सको पहिलो जित



काठमाडाैं ः  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जित हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अाइतबार भएको पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो । जितसँगै फ्रेन्ड्स ४ अङ्कका साथ लिगको नवौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको जितमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एकएक गोल गरे । 

खेलको ६६औँ मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । त्यस्तै खेलको ८४औँ मिनेटमा संजोकले एक गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अनिलले एक गोल थपे । खेलमा फ्रेन्ड्सका कप्तान असिम भुसाल म्यान अफ  म्याच घोषित भए । पराजित मछिन्द्र दुई अंकका साथ लिगको १२आैं स्थानमा छ ।

रासस

प्रतिक्रिया दिनुहोस्