साढे दुई घन्टे रात्रिभोज वार्ताले टार्ला त व्यापार युद्ध ?



ब्युनस आयर्स : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो । 

दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका करहरुमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्नेबारेमा भने सहमति हुन सकेन । 

दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोजपश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनियाँ सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणा अहिले स्थगित गरिएको जनाएको छ । ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ । 

यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको एएफपीले जनाएको छ । ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको ब्युनस आयर्समा छन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘यो सहमतिले दुई मुलुकबीचको आर्थिक तनाव थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रुपमा यो सहमति  भएको छ । 

सम्झौता बमोजिम अर्को वर्षको सुरुबाटै चिनियाँ सामानमा हाल लागिआएको १० प्रतिशत करलाई २५ प्रतिशत पुर्याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ । तर यो आंशिक सम्बोधनमात्र हो । 

रात्रिभोजपछि चिनियााँ राष्ट्रपति सीले भने, ‘हामीबीचको सहयोगात्मक कार्यले मात्र शान्ति र समृद्धि हासिल गर्ने दुवै मुलुकको चाहना पूरा हुन सक्छ ।’ 

दुवै नेताबीचको रात्रिभोज सोचिएको भन्दा लामो समय चलेको थियो । रात्रिभोजमा अमेरिका र चीनका उच्च अधिकारीसमेत सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्