शर्मालाई भारती खरेल स्मृति पुरस्कार



काठमाडौं : यस वर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ । सहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि ५१ हजार छ । 

साहित्यसाधक तथा भक्तिमति भारती खरेलको ८१औं जन्मजयन्ती एवं उनको स्मृतिमा अाइतबार आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले प्रमाणपत्रसहित शर्मालाई सो पुरस्कार प्रदान गरिन्। प्रदेश प्रमुख कोइरालाले आगामी दिनमा पुरस्कार वितरणमात्र नभई अन्य रचनात्मक र सामाजिक कार्य पनि गर्नुपर्ने बताइन् । भारती खरेल प्रतिष्ठानमा सुरुआतदेखि नै सदस्यका रुपमा रही योगदान दिएकी शर्माले यस पुरस्कारले आफूमा साहित्यप्रति थप हौसला जागेको बताइन् । 

सो अवसरमा प्रा डा हेमचन्द्र नेपालले नेपाली साहित्यमा भारती खरेलले महिलावादी चिन्तनलाई बढी प्राथमिकता दिएको बताउँदै नेपाली नारी साहित्यमा उनको अतुलनीय योगदान रहेको जानकारी दिए। 'पुरुष दमनप्रति प्रतिवाद र महिलावादी चिन्तन गर्ने खरेलको साहित्यका प्रमुख विशेषता हुन्”, उनले भने । खरेलका ‘एउटी आमाको कथा’, ‘लाहुरे’, ‘गंगा जमुना’, ‘कुमारी आमा’ गरी चार उपन्यास प्रकाशित छन् । त्यसैगरी कविता संग्रह, लघु उपन्यास, भजन र गीत पनि प्रकाशित छन् । प्रतिष्ठानको स्थापना २०४९ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्