३३ वर्षदेखि सडकको तिरो तिर्दै स्थानीय, नक्शांकनमा सरोकारवालाको आरोप–प्रत्यारोप 



रसुवा : पासाङल्हामु राजमार्ग निर्माण भएको तेत्तिस वर्ष बितिसक्दा पनि अहिलेसम्म नापीनक्शामा सडकको रेखाङ्कन हुन सकेको छैन । 

नेपाली सेनाले विसं २०४२ मा त्रिशूली–सोम्दाङ सडक नामले निर्माण गरेको हाल पासाङल्हामु राजमार्गले ओगटेका भूभागको स्वामित्व किसानका नामबाट लगत कट्टा गरी सडकका नाउँमा कायम गर्ने काम हुन नसक्दा साल बसाली तिरो तिर्न आफूहरू बाध्य भएको सडक क्षेत्रका बासिन्दाले गुनासो गरिरहेका छन् । 

लामो समयदेखि सो समस्या समाधान हुन नसकेपछि समस्या समाधानका लागि यहाँ क्रियाशील संवाद समूहले अब स्थानीय तहसँग वार्ता सुरु गरेको सहजकर्ता बलराम घिमिरेले बताए । सडक निर्माण भएको क्षेत्र उत्तर गया, कालिका, गोसाइँकुण्ड र आमा छोेदिङ्मो गाउँपालिकाअन्तर्गत छन् । 

बेत्रावती–सोम्दाङसम्मको ९७ किमी दुरी नापी कार्यालयको कागजमा नक्शाङ्कन गर्न बाँकी रहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । सडक कार्यालयका अनुसार नुवाकोटको त्रिशूली, ढुङ्गेदेखि धुन्चे–स्याफ्रुबेंसी हुँदै सोम्दाङसम्म नै सडक कार्यालय नाउँमा जमिनको स्वामित्व कायम भएको छैन । 

सडकको मापदण्डभित्र परेका जग्गाको लगत कट्टा हुन नसक्दा सडकले छोएका जग्गा घरव्यवहारका लागि चार पाँच वर्षदेखि किसानले बिक्री वितरण गर्न पाएका छैनन् । बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राख्न नपाउँदा गरिब किसानलाई ठूलो मर्का परेको नागरिक समाजले जनाएको छ । 

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विसं २०६९ मै सरकारले तोकेको सडक मापदण्डसमेत गरी जमिनको सरकारी स्वामित्व कायम गर्न मालपोत तथा नापी कार्यालयलाई निर्देशन दिए पनि सो निकायले कुनै काम अगाडि नबढाएकाले खरिदबिक्री र धितो राख्न लगाई राखिएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखिएको भूमि अधिकार मञ्च रसुवाले जनाएको छ । 

नापी कार्यालय रसुवाले भने नापीनक्शामा रेखाङ्कन गर्न सडक कार्यालयले कुनै कदम अगाडि नबढाएकाले सरकारको निर्देशन कार्यान्वयनका लागि पत्रद्वारा ताकेता भइरहेको जनाएको छ ।

राजमार्गले छोएका जग्गाको स्वामित्व अदलबदल नगर्न भूमिसुधार मन्त्रालयको विसं २०६९ असारको निर्देशनपछि सडकले छोएका जग्गा रजिष्ट्रेशन पास रोकिएको मालपोत कार्यालय रसुवाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्