कृषि ज्ञान केन्द्र सञ्चालन



रुकुम पश्चिम । साविकको जिल्ला कृषि विकास कार्यालय कृषि ज्ञान केन्द्रमा रुपान्तरण भएपछि आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सो कृषि ज्ञान केन्द्रको उद्घाटन गरेका छन् । 

 

मुसिकोट नगरपालिका-५ मा रहेको साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा सो केन्द्र राखिएको छ । रुकुम पश्चिम र सल्यान जिल्लामा काम गर्ने गरी ज्ञान केन्द्र स्थापना भएको हो । 

 

गत साउन १ गतेअघि नै जिल्ला कृषि विकास कार्यालय खारेज भएको थियो । त्यसयता फाजिलमा रहेका कार्यालय कर्मचारीले नै ज्ञान केन्द्र सञ्चालन गर्ने केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले बताए । 

 

रुकुम पश्चिम र सल्यान जिल्लाको कृषिसँग सम्बन्धित तालीम, गोष्ठी, शिविर सञ्चालनका साथै अन्य उपायबाट पनि कृषि उत्पादनमा बढावा दिनेगरी ज्ञान केन्द्र स्थापना गर्ने अवधारणा सरकारले ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्