स्थानीय तहमा कर्मचारी व्यवस्थापन समस्या, एक वर्षमा पाँच प्रशासकीय अधिकृत



धनगढी: जिल्लाका अधिकांश स्थानीय तहहरुमा छिटोछिटो कर्मचारी सरुवा भइरहेका कारण कार्यालयको दैनिक कार्यसम्पादन तथा सेवाग्राहीको काम कारवाही प्रभावित हुँदै आएको छ ।

 

२१ वर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आएपनि संघीय सरकारले हचुवाका भरमा छिटोछिटो कर्मचारीको सरुवा गरिरहेका कारण काम गर्न निकै गाह्रो भइरहेको गुनासो बढेको छ । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा पछिल्लो स्थानीय निर्वाचनपछि पाँचजना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । यसैगरी कैलालीकै घोडाघोडी नगरपालिकामा पनि यो अवधिमा पाँचजना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् ।

 

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड भन्छन्– अहिले काजमा प्रमुख प्रशासकीय अधिकृतकारुपमा चक्रपाणी पाण्डे आउनु भएको छ, कति दिनसम्म यहाँ बस्नुहुन्छ ? थाहा छैन ।’

 

स्थानीय तहका कर्मचारीहरु जनप्रतिनिधिहरुका कारण पनि प्रमुख प्रशासकीय अधिकृत धेरै दिन टिक्न नसकेको दाबी गर्छन् । कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिको आफ्नो इच्छाअनुसार काम नगरे सरुवाको माग गर्ने गरेको बताउँछन् । तर, जनप्रतिनिधिहरु भने संघीय सरकार, मन्त्रालयले हचुवाका भरमा कर्मचारीको सरुवा गर्ने गरेको गुनासो गरिरहेका छन् ।

 

कैलालीको धनगढी उपमहानगरपालिकासहित अधिकांश स्थानीय तहमा कर्मचारी समायोजन प्रभावकारी नभएको, संघीय मन्त्रालयले हचुवाको भरमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिरहेको, कतिपय सन्दर्भमा जनप्रतिनिधिहरुले पनि उचित ढंगले कर्मचारी व्यवसथापन तथा परिचालनमा ध्यान दिन नसकेको तथा जनप्रतिनिधिहरु र कर्मचारीबीच दायित्व र अधिकारबारे विवाद देखिने गरेका कारण स्थानीय तहमा समस्या बढिरहेको राजधानीमा खवर छ  ।

 

धनगढी उपमहानगरपालिका प्रमुख वडले विभागीय कर्मचारीहरु नआउँदा काम गर्न समस्या भइरहेको बताए । उनले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको छिटोछिटो सरुवा गरिरहेकाले समस्या भएको बताए ।

 

उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीबीच राम्रो तालमेल र समन्वय छ, कुनै समस्या छैन । तर, संघीय सरकारले हामीसंग कुनै समन्वय नगरी आफू खुसी सरुवा गरिरहेको छ ।

 

धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षले भने– कर्मचारीहरुको छिटोछिटो सरुवा हुनुमा दुवै पक्ष कारक छन् । जनप्रतिनिधिहरु जनताका गुनासोहरुको तत्काल सम्बोधन होस् भन्ने चाहन्छन, तर कर्मचारीहरु ऐन कानुनका जटिल प्रावधान देखाएर गुनासो सम्बोधनमा ढिलाई गर्ने गर्दछन्, उनले भने–यसले कहिलेकाही जनप्रतिनिधि र कर्मचारीबीच विवाद सिर्जना हुने गरेको छ ।

 

घोडाघोडी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनुअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा रामेछापबाट राजुप्रसाद न्यौपाने सरुवा भएर आए । उनले करिब दश महिना घोडाघोडी नगरपालिकामा काम गरे ।

प्रतिक्रिया दिनुहोस्