मूल्यवृद्धिको विरोधमा भएको हिंसात्मक प्रदर्शनको भत्र्सना



पेरिस : फ्रान्सको राजधानी पेरिस सहित देशभर हिंसात्मक प्रदर्शन भएको छ । इन्धनको मूल्य वृद्धि गरेको विरोधमा केही सातादेखि फ्रान्समा सर्वसाधारणले व्यापक प्रदर्शन गर्दै आएका छन् ।

 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सप्ताहअन्तमा देशभर भएका सरकार विरोधी प्रदर्शनको क्रममा राजधानी पेरिसमा भएका हिंसाको भत्र्सना गर्दै प्रदर्शनकारीहरूले आक्रोश पोख्ने क्रममा कानुन उल्लंघन गरेको बताएका छन् ।

 

पहेँलो टिसर्ट लगाएका प्रदर्शनकारीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा थुप्रै निजी तथा सार्वजनिक भवनमा आगजनी गरिएको भने दर्जनौं सर्वसाधारण घाइते भएका थिए ।

 

जी–२० शिखर सम्मेलनका क्रममा राष्ट्रपति म्याक्रों अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा पुगेका बेला यो प्रदर्शन भएको हो ।

 

इन्धनको मूल्यवृद्धिविरूद्ध पेरिसमा तेस्रो सप्ताहन्तमा भएको प्रदर्शनकको क्रममा आर्क डि ट्रिओम्फ स्मारक स्थलमा प्रहरी र प्रदर्शनकारीहरूबीच भीषण झडपहरू भएका थिए ।

 

प्रदर्शनकारीहरूले राष्ट्रिय स्मारक आर्क डि ट्रीओम्फमाथि चढेर त्यसको अपमान गरेको भन्दै राष्ट्रपति माक्रोँले उनीहरूको कदमको निन्दा गरेका छन् ।

 

उग्र प्रदर्शनकारीलाई रोक्नका लागि सुरक्षाकर्मीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेका थिए भने प्रदर्शनकारीहरूले प्रहरीतर्फ ढुंगामुढा गर्दै ठाउँ ठाउँमा आगजनी गरेका थिए ।

 

प्रदर्शनका क्रममा १७ जना सुरक्षाकर्मीसहित कम्तिमा ११० जना घाइते भएका छन् । प्रदर्शनमा संलग्न २७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

इन्धनको मुल्यवृद्धिसँगै फ्रान्सेली जीवनशैली महंगिएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । फ्रान्सका आन्तरिक मामिला मन्त्रीले प्रदर्शनका क्रममा लगाइएका १९० वटा आगलागी नियन्त्रणमा लिइएको र ६ वटा भवनहरु जलिरहेको जनाएका छन् ।

 

जी–२० शिखर सम्मेलनमा बोल्दै म्याक्रोले विश्वव्यापी जलवायु परिवर्तनको सामना गर्न आफ्नो सरकारले इन्धनबारे सही नीति लिएको दाबी गर्दै त्यसै सिलसिलामा इन्धनको मूल्य बढाउनुपरेको बताएका छन् ।

 

माक्रोंले हिंसा र आगजनीको औचित्य कसै गरी पनि पुष्टि हुन नसक्ने उल्लेख गर्दै प्रदर्शनकारीहरूले देशलाई अस्तव्यस्त बनाउन खोजेको आरोप समेत लगाएका छन् । राजधानी दैनिकवाट

प्रतिक्रिया दिनुहोस्