२०२२ को जी–२० शिखर सम्मेलन भारतमा



भारत : भारतले आफ्नो ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गरेका हुन् । खासगरी सो सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भए पनि एक वर्षपछि आफ्नो ७५औं स्वतन्त्रता दिवस परेकाले सो निर्णय लिएको हो ।

 

भारतको पालोमा इटालीले सम्मेलन गर्न सहमति जनाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीप्रति कृतज्ञता जनाएका छन् ।

 

प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन्, ‘सन् २०२२ मा भारतको ७५ औं स्वतन्त्रता दिवस परेकाले इटालीलाई सन् २०२२ को सट्टा सन् २०२१ मा जी–ट्वान्टी सम्मेलनको आयोजना गर्न अनुरोध गरिएको र इटालीलगायत सदस्य राष्ट्रहरूले भारतको आग्रहलाई स्वीकार गरेका छन् । यसका लागि भारत आभार प्रकट गर्दै सबै विश्व नेतालाई सन् २०२२ मा भारत आउन निमन्त्रणा दिन चाहन्छु ।’

 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले पनि ट्वीटरमार्फत भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने भएको पुष्टि गरे ।

 

जी–ट्वान्टी सम्मेलन विश्वका उदाउँदा अर्थतन्त्रलाई एक ठाउँमा जम्मा गर्ने अन्तर्राष्ट्रिय फोरम हो । जी–ट्वान्टीका सदस्य राष्ट्रहरूसँग विश्वको ८५ प्रतिशत अर्थतन्त्र रहेको छ भने विश्वको दुई तिहाइ जनसंख्या रहेको छ । राजधानी दैनिकवाट

प्रतिक्रिया दिनुहोस्