कांग्रेस बैठक : ‘समानान्तर समितिले नराम्रो परिणाम’



काठमाडौं : प्रस्तावित विधानमा प्रदेश समितिमा पनि केन्द्रकै जस्तो समानान्तर संगठनको परिकल्पना गरिएपछि कांग्रेस केन्द्रीय सदस्यले प्रश्न उठाएका छन् । केन्द्रीय सदस्य रमेश रिजालले आइतबारको केन्द्रीय समिति बैठकमा विधान मस्यौदामाथि धारणा राख्दै समानान्तर पार्टी संयन्त्र कायम गरिए नराम्रो परिस्थितिको सामना गर्नुपर्ने बताएका हुन् ।

 

‘प्रदेश कार्यसमितिमा पनि केन्द्रमा जस्तै महाधिवेशन प्रतिनिधि, महाधिवेशन र महासमिति बनाउँदा केन्द्रको जस्तै देखियो,’ रिजालले भने, ‘यसरी उस्तै प्रकृतिको समिति बनाउँदा भोलि नराम्रो परिस्थिति सिर्जना हुन्छ । प्रदेशका ११/१२ सय प्रतिनिधिले केन्द्रविरुद्ध निर्णय गरे के गर्ने ?’ संघीय संरचनाअनुसार प्रदेशको समितिमा कांग्रेसले महासमिति र महाधिवेशन हुने केन्द्रकै जस्तो समानान्तर शैलीको परिकल्पना  गरेको छ ।

 

अर्का केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले संविधानले पनि समानुपातिक समावेशी प्रतिनिधित्वको विषयलाई ग्यारेन्टी गरेको र समावेशी क्लस्टरको प्रतिशतका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन गर्न माग गरे ।

 

सदस्यता सबैका लागि  सधैँ खुला गर्न जोड

बैठकमा केन्द्रीय सदस्य श्याम घिमिरेले कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको सदस्यता सबैका लागि सधैँ खुला गर्नुपर्ने बताएका थिए । ‘कांग्रेस प्रजातान्त्रिक पार्टी हो, त्यसैले सधैँभरि पार्टीका सबै निकायमा सदस्यता खुला गर्नुपर्छ,’ घिमिरेले भने, ‘सदस्यतामा कुनै बन्देज हुनुहुँदैन ।’

 

सामाजिक सुरक्षा ऐन  सुखद, तर भड्किलो

कांग्रेसले सरकारले अघि बढाउन लागेको सामाजिक सुरक्षा कार्यक्रमलाई सुखद र सकारात्मक भन्दै यसको कार्यान्वयन प्रक्रिया प्रवेश क्रमको प्रचार शैलीलाई अनावश्यक र भड्किलो भनेको छ ।

 

‘सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा ९ साउन ०७४ साउनमा संसदमा प्रस्तुत भई संसद्ले पारित गरेर २९ साउनमा राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कांग्रेसले लिएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘तर ११ मंसिरमा सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझैँ गरेर भ्रम छर्ने गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको तस्बिर सहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको विषयप्रति कांग्रेसको ध्यानाकृष्ट भएको छ ।’ सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहबर्धक भूमिकाबाट मात्र यसको सफल कार्यान्वयन हुने कांग्रेसले जनाएको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्