एसिया समिटले नेकपामा तीब्र असन्तुष्टि



काठमाडौं : विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेशन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ ।

विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् । 

‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थकोमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन,’ नेता भीम रावलले ट्वीट गर्दै भनेका छन्, ‘शान्तिका नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ । नभने सरकारले खोजेर भन्नुपर्छ ।’

रावलले शीर्ष नेतृत्वलाई राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सुझाएका छन् ।

नेकपाका अर्का नेता घनश्याम भुसालले पनि सम्मेलनमा नेताहरुको संलग्नताप्रति आपत्ति जनाएका छन् । ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’

समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिका संयोजक थिए भने प्रधानमन्त्री केपी ओली र सरकार सहयोगी बनेको थियो ।

समिटमा नेकपाकै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ अनुपस्थित रहे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्