आज नयाँ प्रधानन्यायाधीश सिफारिस हुने



काठमाडौँ : नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद् बैठक बोलाएका छन् ।

 

उमेर हदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन् । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न आज संवैधानिक परिषद् बैठक बोलाइएको हो ।

 

न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ ।

 

प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन ।

 

संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

 

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख तथा कानुनमन्त्री सदस्य छन् । आजको बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्