नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक आज



काठमाडौं: नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठक आज र भोलि दुई दिन चल्नेछ ।

 

नेपाल–बङ्गलादेशबीचको ‘संयुक्त कार्य समूह’को बैठक आयोजना गरिएको छ । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका छन् ।

 

नेपालकोतर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्नेछन् । आज सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक तय भएको छ । बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरे र बङ्गलादेशकोतर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्नेछन् ।

 

बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारका बारेमा दुवैपक्षबीच छलफल हुनेछ । नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव (जिएमआर) बाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे बैठकमा छलफल हुनेछ ।

 

ऊर्जामन्त्री वर्षमान पुनले गत भदौमा गर्नुभएको बङ्गलादेश भ्रमणमा दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए । बङ्गलादेशसँग ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्