बन्द संस्थान चलाउन निजी क्षेत्रलाई आह्वान



काठमाडौं : सरकारले बन्द भएका तथा समस्यामा रहेका सार्वजनिक संस्थान सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गर्ने भएको छ । सरकारले हेटौंडा कपडा उद्योगबाट बन्द संस्थान चलाउन निजी क्षेत्रका व्यवसायीसँग आशयपत्र माग गर्ने तयारी भइरहेको छ ।

टेक्सटाइल उद्योगमा लामो अनुभव भएको गोल्यान समूह तथा विराटनगर र वीरगन्जका टेक्सटाइल उद्योगीले हेटौंडा कपडा उद्योग सञ्चालनका लागि चासो देखाएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयको राय लिएको छ ।

धेरै अघि नै कर्मचारीको दायित्वबाट अलग भैसकेको हेटौंडा कपडा उद्योगलाई पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले पुनः सञ्चालनमा ल्याउने पहल गरेका थिए भने पूर्वउद्योगमन्त्री नविन्द्रराज जोशीले सेना प्रहरीका लागि आवश्यक कपडा उत्पादन गर्ने बन्दोबस्ती मिलाउन प्रयास गरेका थिए । तर, यो उद्योग अहिले बन्दप्रायः छ ।

अर्थ मन्त्रालयले हालै उद्योग मन्त्रालयलाई बन्द भएका औद्योगिक संस्थान सोही प्रयोजनमा निजी क्षेत्रले सञ्चालन गर्न चाहे खुला प्रतिस्पर्धाबाट लिजमा दिन भनेको छ । बन्द भएका औद्योगिक संस्थान अहिले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले व्यवस्थापन गर्दै आएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्