योगी आदित्यनाथ जनकपुर आउन आतुर



जनकपुरधाम: भारत, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाहपञ्चमी महोत्सवका अवसरमा मंसिर २६ गते जनकपुर भ्रमण गर्न आफू आतुर रहेको बताएका छन् ।

 

जनक जननी जानकी र मर्यादा पुरुषोत्तम रामको विवाहका दिन पारेर हरेक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवका लागि मुख्यमन्त्री योगी जनकपुर आउन लागेका हुन् । योगीको जनकपुर भ्रमण विशुद्ध सांस्कृतिक हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

आइतबार जनकपुरबाट उत्तरप्रदेश पुगेका पत्रकारहरूको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री योगीले जनकपुर–अयोध्याबीचको सम्बन्ध गर्न दुवै सहरका बीच सहमति गरिने बताए ।

 

उनले सीता मार्गमा कार्यारम्भ भइसकेको बताउँदै जनकपुर–अयोध्या बस सेवा सञ्चालन त्यसकै प्रतिफल भएको जनाए । सीता मार्ग र जनकपुर–अयोध्या सीधा बस सेवामार्फत श्रद्धालुभक्तजनले अयोध्याधाम तथा जानकी जन्मस्थलीसम्मको दूरी सुविधापूर्ण ढंगले तय गर्ने योगीले बताए ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको उल्लेख गर्दै पौराणिककालदेखि चल्दै आएको दुवै देशबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने बताए ।

 

राजा दशरथ र राजा जनकबीच अटुट सम्बन्ध रहेको थप्दै उनले जनकपुर–अयोध्या र काशी–पशुपतिनाथबीचको सम्बन्धबारे चर्चा गरे । जनकपुरबाट उत्तरप्रदेश पुगेका पत्रकारहरूमा अनिल मिश्र, नित्यानन्द मण्डल, ईश्वरचन्द्र झा पुरन गुप्ता, वृषेश यादव आदि थिए ।

प्रतिक्रिया दिनुहोस्