
बागलुङ: ढोरपाटन नगरपालिकाले कोदो बाली जोगाउन ‘किसान प्रोत्साहन कार्यक्रम’ सुरु गरेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
किसानलाई कोदो खेतीतर्फ प्रेरित गर्न नगरसभाले चालू आर्थिक बर्षमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए । उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् ।
“वैज्ञानिक हिसाबले रकम बाँड्छौँ” नगरप्रमुख नेपालीले भने, “बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।” खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुने उनले बताए । किसानले पुरस्कार रकम कोदो बाली प्रवर्द्धनमै खर्च गर्नुपर्ने उनको भनाई छ ।
कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ साथै कृषि शाखामार्फत कोदो खेतीको अध्ययन समेत अघि बढाएको छ ।