एसिड पीडितको घरमा मुख्यमन्त्री राउत



चन्द्रपुर (रौतहट): छिमेकीको एसिड प्रहारबाट मृत्यु भएका सम्झनाकुमारी दासको घरमा राहतको रकम लिएर बिहीबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आफैं आएका छन् । उनले पीडित परिवारलाई भेटेर प्रदेश सरकारको तर्फबाट ४ लाख सहयोग दिने बताए । 

 

भदौ २६ गते राति छिमेकी रामबाबु पासवानले १८ वर्षीया सम्झना र उनकी बिहिनी १५ वर्षीया सुस्मिताकुमारी माथि एसिड प्रहार गरेका थिए । झण्डै २ साता लामो उपचारपछि सम्झनाको आइतबार राति मृत्यु भयो । मुख्यमन्त्री राउतले सुरुमा १ लाख र सम्झनाको मृत्युपछि पीडित परिवारलाई थप ३ लाख दिने घोषणा गरेका थिए । पीडितलाई सान्त्वना दिन आफू चेक बोकेर आएको उनले बताए ।

केही समयपछि प्रदेश सरकारले मोबाईल एप्स ल्याउने र त्यसबाट प्रत्येक महिलालाई कुनै किसिमको दुर्व्यबहार हुन गएमा तत्काल प्रहरीले थाहा पाउने सिस्टमको विकास गरिने

उनले मृतक सम्झनाका बुवा जादोलाल दासलाई १ लाखको चेक हस्तान्तरण गरेका थिए । बाँकीको ३ लाख आइतबार नै दिने बताए । ‘यस्ता घटना नदोहोरिन स्थानीय प्रशासन चनाखो हुनु पर्छ,’ उनले भने, ‘एसिड प्रहारको घटनाको दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ उनले यस्ता अपराधीलाई फाँसीको सजाय हुनु पर्ने जनाए । हत्या, बलात्कारजस्तो जघन्य अपराधका घटना प्रदेश २ मा बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

 

घटनाप्रति प्रदेश सरकार गम्भीर बनेको उनले जनाए । उनले पीडित परिवारको साथमा सिङ्गो प्रदेश सरकार रहेको भनेर सान्त्वना दिएका थिए ।

मुख्यमन्त्रीको साथ प्रदेशका राज्यमन्त्रीहरु योगेन्द्रराय यादव, डिम्पल झा र महान्यायधिवक्ता दिपेन्द्र साथ आएका थिए ।

 

उनले महान्यायधिवक्ता झाको संयोजकत्वमा एसिड घटनाको सत्यतथ्य छानबिन गरी १५ दिन भित्रमा प्रतिवेदन बुझाउन पीडित परिवारसामु निर्देशन दिए । छानबिन समितिले शुक्रबारबाट काम थाल्ने छ । 

 

मुख्यमन्त्री आउने भएपछि स्थानीयको ठूलो भीड लागेको थियो । गाउँमा मानिसहरु पीडित परिवारलाई सान्त्वना दिन बिहानदेखि घरमा बसेका थिए ।

 

केही समयपछि प्रदेश सरकारले मोबाइल एप्स ल्याउने र त्यसबाट प्रत्येक महिलालाई कुनै किसिमको दुर्व्यहार हुन गएमा तत्काल प्रहरीले थाहा पाउने सिस्टमको विकास गरिने जनाए । यसले घटना रोक्न मद्दत पुग्ने उनको ठम्याई छ । जादोलालका कान्छी छोरी सुस्मिताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा सहयोग गर्न कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाए ।

 

घटनापछि दुबैको उपचारमा समस्या भएको थियो । आर्थिक अवस्था कमजोर भएकाले उनीहरुलाई समस्या भएको हो । उपचारका लागि स्थानीयले चन्दा उठाए । स्थानीय प्रशासनले केही रकम सहयोग गरेको थियो ।

 

सम्झनाको शरीरका धेरै भाग र अनुहारमा बढी एसिड परेको थियो । उनको २ पटक शल्यक्रिया गरिएको थियो । शरीरको ३५ प्रतिशत भाग जलेको थियो । एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको थियो । चिकित्सकले उनको शल्यक्रिया गरी जलेको भाग काटेर फालिए पनि बचाउन सकेनन् । अन्तमा उनले प्राण त्यागिन् ।

 

सुस्मिताको भने अवस्था धेरै गम्भीर छैन । एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ । ५ प्रतिशत मात्रै जलेकाले उनी खतरामुक्त रहेको चिकित्सक बताउँछन् । सुस्मिताको रेखदेख गर्न मलेसियाबाट आमा धनमाया आएकी छिन् ।

‘सम्झनालाई त हामी ल्याउन सक्दैनौं,’ मुख्यमन्त्री राउतले भने,‘तर यस घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको लागि पहल गर्छौ ।’ सम्झनाका बुवा जादोलाल, कान्छीआमा पर्मशिला देवी, दाई र भाउजुलाई अगाडि राखेर मुख्यमन्त्री राउतले चेक दिएका थिए । उनले ‘बेटी पढाऔं बेटी बचाऔं’ अभियानअन्तर्गत ४ लाख सहयोग दिने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्