शासकलाई मोजमस्ती, जनताचाहिँ सधैं रैती ?



साँच्चिकै नयाँ युग सुरु भयो कि जस्तो लागेर होला, आज मलाई केही विषयमा मनका कुरा पस्कन मन लागिरहेको छ । दलगत वा कसैप्रति आक्रोश छैन, केवल जनचासोको विषय प्रस्तुत गर्छु ।

चुनाव सकिएको पनि धेरै समय भइसक्यो । अँ साँच्ची मेयर, उपमेयरलगायत स्थानीय तहका सबै जनप्रतिनिधिले आफ्ना लागि गाडी त व्यवस्था गरिसके होलान् नि । सँगसँगै एम्बुलेन्स र दमकल पनि किने होलान् त । या कागजपत्र नै तयार छैनन् ।

देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । दलहरू सबैभन्दा बढी घुस्याहा बनेका छन् । सरकारी कार्यालयको पनि कुरै नगरौं । नापी र मालपोत त लाग्छ, घुसकै कारोबार गर्न स्थापना गरिएका हुन् । हिजोका रोडपतिहरू रातारात करोडपति बनिसके । साँच्चै सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्यो होला त । एकपटक सोध्न मन छ । बाजागाजा बजाएर गाउँगाउँमा भित्र्याएको सिंहदरबारले कत्तिको फेर्यो विकटको जीवन, सोध्न मन लागिरहेको छ ।

सबैतिर लुट मच्चिएको छ । खोला, वन र जमिन बिचौलियाका अड्डा बनेका छन् । कति त बेचिसके पनि । मधेस सधैं अशान्त छ । मधेसीहरू अझै अधिकारका लागि लडिरहेका छन् । के तराई, के पहाड, सबैतिर बलियाको हैकम छ । बलमिच्याइँ चल्दैछ, चलिरहनेछ ।

 

सामान्यभन्दा सामान्य विकास र परिवर्तन पनि हुन सकेको छैन । सबैतिर अस्तव्यस्त छ । के के न नापिएला भनेर बडो उत्साहित भएर भोट पनि हाल्यौं । तर, अहिले यी हात सिलौटामा राखेर किच्न मन छ । के चाहिँ पाप गरेका थियौं र हामीले, यति दुःख पाइरहेका छौं । यत्तिका विश्वास दिलाएर लिएको भोटको किन सदुपयोग गर्न सक्दैनन् यिनीहरू ? के हामी अपराधी थियौं र ? अहिले लाग्छ भोट हालेर अपराध नै गरेछौं ।

 

पुलिस घुस खान्छ । न्यायालय अपराधीलाई उन्मुक्ति दिन्छ । अनि राज्य चलाउने भनाउँदाहरू तिनै अपराधीको चंगुलमा फस्छन्, जानीजानी । युवा विदेश गएकागयै छन् । हरेक दिनजसो बालिकादेखि वृद्धासम्म बलात्कृत भइरहेका छन् । वयस्क महिला बलात्कृत भइन् भने त समाचारै बन्दैनन् जस्तो भइसक्यो । सरकारको कदम सही भएन भनेर शान्तिपूर्ण प्रदर्शन गर्यो, सरकार समाउँछ । सरकारी ढुकुटी रित्याएर मोज गर्नमै व्यस्त छन् नेताहरू । भ्रष्टाचार गर्छन्, बाँडेर खान्छन् । बिरालो कालो होस् या सेतो, उसको धर्म मुसा मार्नु हो । जब बिरालो नै मुसाको रङ रोज्नपट्टि लाग्छ त कसरी हुन्छ काम ?

स्थानीय तहमा करको त्रास छ । सुन्दा पनि उदेक लागेर आउँछ । तर, लाग्छ राज्य जनता लुट्नै बसेको छ । जनताबाट कर उठाउर यहाँ प्राडो किनिन्छ, मेयरसा’बलाई गाडी किनिन्छ । दमकल नभएर आगो निभाउन नसक्दा जनता जलेर मर्न विवश छन् ।

राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिन्छ । जनता अझै एक गाँसका लागि तड्पिएका छन् । कति दिन यसरी शासक पालेर बस्ने ? यस्तो देख्दा पनि बोल्न नसक्ने यिनीहरू कतै अर्कै ग्रहका मान्छे पो हुन् कि ? सामाजिक सुरक्षाको कार्यक्रम आयो । काम कहिले सुरु हुने र कति लाभान्वित हुनेभन्दा पनि क्रेडिट लिने होडबाजी चल्न थाल्यो । यस्तो तालले कतिन्जेल टिक्ला यो ?

मधेसका जनता दाइजोले र पश्चिममा छाउपडीले ग्रस्त छ समाज । सुत्केरी हुन नसकेर कर्णालीका महिला मर्दैछन्, देख्दैन सरकार । पावरवालाकै बोलबाला छ ।

एकअर्कालाई दोष लगाउँदै चुनाव सकिन्छ । सरकार बन्छ । तर, अघिल्लो सरकारले यसो गर्यो, हामीलाई मात्र किन दोष भन्छन् । के प्रचण्ड, के ओली के देउवा, सबै गणतन्त्रको उपहास गर्दैछन् । भर्खरै ल्याइएको सामाजिक सुरक्षा कार्यक्रम ओझेलमा परेको धेरै भएको थियो । फगत प्रचार गरी सीमित मानिसका फाइदाका लागि त ल्याइएको होइन ? यो मननीय छ । कार्यक्रमले कसलाई कति समेट्छ भन्ने अन्योलझैं छ । यस्तै हो भने राज्य टाट पल्टिन कति नै बेर लाग्छ र । सरकार बलियो र स्थिर छ तर काम कति भयो, सामान्य नागरिकले बुझ्छन् ।

 

नागरिकले सरकार चाहन्छन्, दलको बलमिच्याइँ हैन । यसरी प्रधानमन्त्रीको मानमा राज्यकोष दुरूपयोग हुनुमा कि त सत्ता नै विवेकहीन छ कि प्रधानमन्त्रीका नजिकका मानिसको नियतमा खोट छ । यो न त पोलमा फोटो टाँस्नुपर्ने नयाँ कार्यक्रम हो न एउटा कानुन बनाउँदैमा नाक फुलाउनुपर्ने विषय हो ? कानुन बनाउनु र बनेको कानुन कार्यान्वयन गर्नु संसद र सरकारको नियमित काम हो । त्यसका लागि तिनले तलब बुझ्छन् । तर यसरी तामझाम गर्नु जरुरी हो र ? यसरी त राज्य चल्दैन ।

देशमा दैनिक औसतमा छ जना महिला तथा बालिका बलात्कृत हुन्छन् । निर्मला हत्याकाण्डपछि छ सय बलात्कारका घटना भइसकेका रहेछन् । सरकारी कुरा सुनेर पनि उदेक लाग्छ । न्यूनीकरणचाहिँ परिणाममा देखिन आएको छैन । यस्तो देख्दा महिलाका सरोकारवाला संस्था किन बोल्दैनन् ? महिला नेतासमेत चुँइक्क बोल्दैनन्, किन ? कि दल विशेषको झोले बनेर हो ?

न्याय पाउनु आम नागरिकको माग गलत होइन ।

 

यहाँ त बल मिच्याइँ छ । यस्तो शासन पञ्चायतका बेला पनि थिएन । यहाँ विरोध नै गरिएको होइन, नागरिक स्वरहरू किन केको खातिर बन्द गरेको भन्ने प्रश्न उठाएको मात्र हो । राज्यले जबाफ दिनुपर्‍यो । नेपालमा अब कुनै राजा महाराजाको शासन छैन । सबै जाति मिलेर बसेको देशमा म शासक, तँचाहिँ रैती होस् भनेर नयाँ राजा बन्ने सपना नदेखेको जाती ।

न्याय दिने काम राज्यको हो, दिनुपर्‍यो ।

 

यो सरकार सबै नै तबरले सबल, सक्षम छ, जनमत पाएका नेता गतिला छन् भने परिणामचाहिँ किन दिन नसकेको ? १० महिना भयो सरकार बनेको, तर खै जनताका लािग काम भएको ? केले रोकेको हो ? काम गर्न नदिने को हुन्, पत्तो लगाऊ । नत्र ओठे उत्तर अब जनताले मान्दैनन् ।

बालुवाको पुल नदीमा बनेको मलाई त थाहा भएन । बन्दैन पनि होला । जबसम्म यहाँ नागरिक चेतना बन्दुक, बारुद, गोला, कलम वा तरबार बन्दैन तबसम्म शासकले हामी नेता, हामी शासक, तिमीहरू जनताचाहिँ रैती हौ भनिरहनेछन् । यसमा सबै नागरिकको ध्यान जान जरुरी पो हो कि ? झन्डाको फन्डामा नफसी जबाफ दिनुहोला ।

प्रतिक्रिया दिनुहोस्