विपद्ले लिन्छ नेपालमा दैनिक तीजनाको ज्यान



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्वतयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् । 

 

विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४औँ बैठकको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०७२ को विनाशकारी भूकम्पपछि तत्काल राहत र पुनःस्थापनाका साथै पुनःनिर्माणको काम अहिले पनि जारी रहेको बताए । 

उनले अन्य मुलुकका अनुभवलाई समेत ध्यान दिएर समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा पुनःनिर्माणमा सरकार गम्भीरताका साथ लागिरहेको उल्लेख गरे । 

 

उनले भने, ‘नेपाल सरकार विपद् जोखिम व्यवस्थापन नीति कार्यान्वयनमा प्रतिबद्ध छ । प्राकृतिक विपद्बाट बच्न मानवीय तयारी र भौतिक साधनको सङ्कटबाट कसरी बच्ने र र भावी जीवनलाई कसरी अनुकूल बनाउने भन्नेबारेमा हरेक विपद्ले पाठ दिइरहेको हुन्छ ।’

प्राकृतिक विपद्को कुनै सीमा र पूर्वानुमान नहुने भएकाले पूर्वतयारी, सूचना, विज्ञान र प्रविधिमा आधारित निर्णय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपालको भूगोलका आधारमा विपद्का विविधतालाई ध्यान दिएर सरकारले पूर्वतयारीका क्रममा आपतकालीन व्यवस्थापन र राहतको व्यवस्थापन गरेको जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापाले नेपालमा विभिन्न विपद्का कारण दैनिक सरदर तीनजनाको अकालमा ज्यान जाने गरेको बताए । उनले विपद्का कारण मानवीय, भौतिक र वातावरणीय क्षति भई गरिबी बढ्न पनि सहयोग पुगेको स्पष्ट पारे । उनले हिमाल पग्लने र भारी वर्षाका कारण पनि विपद् वृद्धि हुने गरेको उल्लेख गरे ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले विभिन्न प्रकारका विपद्का कारण मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब दुई प्रतिशतले ह्रास आउने गरेको बताए । 

एसिया प्रशान्त क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी २६ मुलुकका निकायका प्रतिनिधि र साझेदार संस्थाका प्रतिनिधिबीचको सहभागिता रहेको बैठकमा दगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे छलफल हुनेछ । तीन दिनसम्म सञ्चालन हुने यस बैठकमा एसियाली विपद् पूर्वतयारी केन्द्रका सदस्य राष्ट्रसहित करिब ३० देशका १ सय ५० जना सहभागी छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्