सुविधाभोगी जनप्रतिनिधि, बजेटजति गाडीमै स्वाहा !



तेह्रथुम : तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारीसाधन खरिदमा झन्डै सात करोड रुपैयाँ खर्च गरेका छन् । कार्य सम्पादन सहज बनाउन भन्दै उनीहरुले स्थानीय तहको मोटो बजेट गाडी खरिदमा सकेका हुन् । सबै स्थानीय तहको गरी कुल छ करोड ९० लाख ३९ हजार ७ सय रुपैयाँ गाडी खरिदमा खर्च भएको छ । 

 

म्याङलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा ५५ लाखमा एउटा स्कार्पियो गाडी खरिद गरेको छ । यस्तै २९ लाखमा १० वटा मोटरसाइकल खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताए । गाडी नगर प्रमुखका लागि खरिद गरिएको र मोटरसाइकल नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका लागि खरिद गरिएको नगरपालिकाले जनाएको छ । 

 

१९ लाखमा एउटा ट्याक्टर किनिएको र कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिले ३० लाखमा किनेको पिकअप गाडी चालू अवस्थामा छ । अरु छ वटा मोटरसाइकल र एउटा स्कुटर पनि सञ्चालनमा छन् । 

 

लालीगुराँस नगरपालिकाले पनि ३३ लाखको पछाडि सामान बोक्न मिल्ने एउटा चारचक्के गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ । नौ वटा मोटरसाइकल दुई लाख १७ हजारका दरले, तीनवटा दुई लाख ६० हजारका दरले र बाँकी तीनवटा दुई लाख तीन हजार, चार लाख ८० हजार र चार लाख ८४ हजारका दरले खरिद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताए ।  

 

३० लाखको एउटा ट्याक्टर, ९५ लाखको एउटा स्काभेटर र ३८ लाखको जेसिबीसमेत खरिद गरेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरिदका लागि १० लाख र नगरबस खरिदका लागि ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताए । 

 

उता छथर गाउँपालिकाले पनि ६५ लाखमा पछाडि सामान बोक्न मिल्ने सवारीसाधन खरिद गरेको छ । चारवटा मोटरसाइकल दुई लाख १७ हजारका दरले र रु दुई लाख ६० हजारमा अर्को एउटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताए । साबिकका गाविसले खरिद गरेका तीनवटा मोटरसाइकल हाल वडाध्यक्षले प्रयोग गर्दै आएका छन् । 

मेन्छ्यायेम गाउँपालिकाले ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरिद गरेको छ । दुई लाख १७ हजारका दरले छवटा मोटरसाइकल पनि खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताए । 

 

फेदाप गाउँपालिकाले ५४ लाख १५ हजारको स्कार्पियो गाडी र पाँच लाख ९४ हजार ९ सयका दरले तीनवटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताए । उनले तीन लाखका दरले थप तीनवटा मोटरसाइकल पनि चाँडै खरिद गरिने जानकारी दिए । साबिकका गाविसले पहिले नै पाँचवटा मोटरसाइकल खरीिद गरेका थिए ।

आठराई गाउँपालिकाले ५२ लाखमा एउटा स्कार्पियो गाडी र दुई लाख १५ हजारका दरले चारवटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताए । उनले कार्यालय प्रयोजनका लागि थप एउटा मोटरसाइकल खरिद गर्न पाँच लाख रकम छुट्याएको बताए । साबिकका गाविसले खरिद गरेका सातवटा मोटरसाइकल वडाध्यक्षले प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ । 

 

यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढी मात्रामा खरिद गरिनुले जनप्रतिनिधि तथा कर्मचारी विलासी बनेको देखिएको सर्वसाधारणको गुनासो छ ।

रासस

 

प्रतिक्रिया दिनुहोस्