
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको प्रदेश कमिटीले पूर्णता पाए पनि कमिटीमा को को रहन्छन् तिनको नामावली भने तत्काल सार्वजनिक हुने देखिएको छैन ।
प्रदेश कमिटीमा रहने कतिपय सदस्यको नामप्रति विवाद भएका कारण नेकपाले नाम सार्वजनिक गर्न आनाकानी गरेको बुझिएको छ । नेकपा स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘कमिटीले पूर्णता पाए पनि नाम सार्वजनिक गर्दैनौं । विवाद देखिएको छ, पहिला त्यसको समाधानतिर लाग्छौं ।’ उनले उक्त निर्णय स्थायी समितिमा लैजानै बताए ।
कतिपय नाम अझै तय नभएको बताउँदै नाम सार्वजनिक गर्न ढिला गरिएको जानकारी दिए । उनले थपे, ‘नाम सार्वजनिक गर्ने भन्ने निर्णय भएको छैन । यो वा त्यो प्रदेश भन्ने पनि छैन, सार्वजनिक गर्ने विषय पनि टुंगिएको छैन ।’
गत मंसिर १२ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीमा रहनेहरूको नाम तय गरेको थियो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको भालिपल्टै प्रदेश कमिटीमा रहेका सदस्यको पूर्ण विवरण सार्वजनिक गर्ने बताएका थिए ।