गुठी जग्गा बेच्ने गिरोहका मास्टर माइन्ड वैकुण्ठलाई मन्त्रीको संरक्षण !



जनकपुर : सरकारी कागज किर्ते अभियोगमा धनुषा जिल्ला अदालतद्वारा वारेन्ट जारी भएपछि फरार रत्नसागरका महन्थ वैकुण्ठ दासलाई पक्राउ नगर्न धनुषा प्रहरीमाथि चर्को दबाब परेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैकुण्ठलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइरहेको स्रोतले बताएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको हजारीजनक विद्यापीठ, जनकपुरको दुई बिघा १८ कट्ठा जग्गा किर्ते कागज बनाएर बिक्री गरेको मुद्दामा वैकुण्ठविरुद्ध मंसिर १२ गते जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो ।

 

वैकुण्ठले गुठीको नक्कली रसिद र लालपुर्जा बनाएर विद्यापीठको जग्गा अशोक शर्मा नाम गरेका व्यक्तिलाई बेचेका थिए । शर्माले सो जग्गा बेच्न लागेको थाहा पाएर विद्यापीठले उनीविरुद्ध मुद्दा दायर गरेपछि जग्गाको कागजात नक्कली रहेको खुलेको थियो ।

 

सो जग्गा जनकपुरका समाजसेवी रामचन्द्र साहका पुर्खा हजारी साहले विद्यापीठ स्थापनाका बेला दान दिएका थिए । जग्गा उनले रत्नसागरबाटै खरिद गरेका थिए । 

सरकारी कागज किर्ते अभियोगमा प्रहरीले शर्मालाई पक्राउ गरेलगत्तै गुठी जग्गा कारोबारका ‘मास्टर माइन्ड’ वैकुण्ठ जनकपुरबाट फरार भएका थिए । सत्तामा रहने राजनीतिकर्मीसँग निकट रहेर मठको जग्गा बिक्री गर्दै आएका वैकुण्ठ पछिल्लो समयमा मन्त्री महासेठसँग नजिकिएका छन् ।

स्थानीय निर्वाचन तथा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा तत्कालीन एमालेनिकट उम्मेदवार र खासगरी महासेठलाई सघाएका उनले एक दशकयता पाँच बिघाभन्दा बढी जग्गाको अवैध कारोबार गरेको स्रोतको दाबी छ । उनी काठमाडौंमा मन्त्री महासेठकै संरक्षणमा रहेको स्रोतले बताएको छ । यही कारण प्रहरीले उनलाई पक्राउ गर्न आँट गर्न नसकेको स्रोतको भनाइ छ ।

 

‘जनकपुर क्षेत्रका महन्थका लागि पक्राउ पुर्जी जारी हुनु ठूलो कुरा होइन, धेरैपटक भएका छन् । तर, मुद्दाबाट कसरी उम्किने भन्ने भेउ नपाएर वैकुण्ठ केही समयका लागि भूमिगत भएका हुन्, लाइन मिल्नेबित्तिकै उनी दुलोबाट बाहिर निस्कन्छन्,’ स्रोतले भन्यो । मुद्दामामिलामा लाइन मिल्नु भनेको अवैध तरिकाले न्यायनिरूपण प्रक्रिया प्रभावित गर्नु हो ।

 

दास यसअघि कर्तव्य ज्यान मुद्दामा समेत अभियुक्त बनेका बेला फरार भएका थिए । पछि अदालतमा हाजिर भएका उनले सफाइ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्