आमिर खान भन्छन्ः नाना पाटेकरमाथि छानविन हुनुपर्छ



अभिनेता नाना पाटेकर भारतीयहरुले निकै सम्मान गर्थे । तर ,एक नायिकाले लगाएको गम्भीर आरोपपछि उनको छवि एकाएक ध्वस्त भएको छ ।

 

नायिका तनुश्री दत्ताले एउटा चलचित्रको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले यो पनि दावी गरेकी छन् कि आफ्ना नातिनी उमेरका नायिकाहरुलाई नानाले गलत नजरले हेर्थे ।

 

तनुश्रीको आरोपले बलिउडमा खल्बली पैदा भएको छ । अन्य कलाकारहरुले पनि यस विषयमा मुख खोल्न थालेका छन् । हालै एक पत्रकार सम्मेलनमा अभिनेता आमिर खानले नानामाथि छानविन गरिनुपर्ने बताए ।

 

पत्रकारहरुले यस प्रकरणमा प्रतिक्रिया माग्दा सुरुमा उनले अप्ठेरो मानेका थिए । तर अन्ततः नबोलिरहन सकेनन् । आमिरले भने, ‘विवाद उठिसकेपछि त्यसको निर्क्याैल गर्नु राम्रो हुन्छ । मेरो विचारमा यो प्रकरणमा जोडिएका व्यक्तिमाथि अनुसन्धान हुनुपर्छ ।’

 

सोही पत्रकार सम्मेलनमा उपस्थित अभिनेता अमिताभ बच्चनले भने यो विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘न म नाना पाटेकर हुँ, न तनुश्री दत्ता, मलाई किन यो प्रश्न सोध्नुहुन्छ ?’ उनले तर्किदै भने ।

 

तनुश्रीको आरोपले बलिउडकर्मीहरु दुई खेमामा बाँडिएको पाइएको छ । एकथरीले चर्चामा आउनका लागि तनुश्रीले यो फन्डा गरेको आशंका व्यक्त गरेका छन् भने अर्काथरीले नाना पाटेकरको चरित्रमाथि औंला उठाएका छन् । स्वयम् नानाले भने यो विषयमा मुख खोलेका छैनन् । उनको मौनताले झन् आशंका सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्