काठमाडौं : आवश्यक पूर्वाधार तयार नपारी सेयरको अनलाइन ट्रेडिङ सुरु गरेको भनी आलोचित नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई अनलाइन कारोबार विधिबारे तालिम दिन सुरु गरेको छ । आइतबारदेखि सुरु भएको तालिम यो साताभरि चल्ने नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार प्रत्येक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने तालिममा हल भरिनेगरी लगानीकर्ता सहभागी भएका छन् । नेप्सेले तालिममा सहभागी हुन अग्रिम नाम टिपाउनुपर्ने सूचना गत शुक्रबार सार्वजनिक गरेको थियो ।
शुक्रबारसम्मकै लागि सिट बुकिङ भइसकेको नेप्सेका एक कर्मचारीले बताए । ‘त्यसपछि पनि माग भए लम्ब्याउने योजना छ’, उनले भने ।
तालिममा अनलाइन विधिबाट सेयर कारोबार गर्दा ध्यान दिनुपर्ने विविध पक्षबारे जानकारी गराइएको प्रशिक्षक सुबिन महर्जनले बताए । तालिममा सहभागी लगानीकर्ताले सकारात्मक प्रतिक्रिया दिएको उनको दाबी छ । ‘सबै खुसी नै देखिनुहुन्छ तर उहाँहरुको जिज्ञासा हामी आफैंले कहिलेदेखि अनलाइनमार्फत खरिद बिक्री आदेश दिन पाउँछौं भन्ने छ’, उनले थपे । उनी नेप्सेलाई अनलाइन कारोबार गर्ने सफ्टवेयर बिक्री गरेको वाइको प्रालिबाट लगानीकर्तालाई तालिम दिन खटिएका हुन् ।
झुलाउने मेसो : लगानीकर्ता
तालिममा सहभागी लगानीकर्ता मदनश्याम आचार्यले भने सेयरको अनलाइन ट्रेडिङ भनेर नेप्सेले आफूहरुलाई झुलाइरहेको आरोप लगाए । सेयर बेच्दा सम्बन्धित सेयरधनीको बैंक खातामा रकम बढ्ने र सेयर किन्दा रकम घट्ने स्वचालित प्रक्रिया जबसम्म लागू हुन्न तबसम्म अनलाइन कारोबार भनेर जति हल्ला गरे पनि त्यसको कुनै अर्थ छैन’, उनले भने ।
छिमेकी मुलुकहरुमा निकै वर्षपहिलेदेखि नै यस्तो स्वचालित विधि लागू भइसकेको जनाउँदै उनले थपे, ‘प्रविधिले फड्को मारिसकेको बेला हामीकहाँ नाममात्रको अनलाइन प्रणाली सुरु भयो ।’ स्वचालित रुपमा बैंक खातामा रकम घटबढ हुने प्रणाली लागू नगरेसम्म गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने योजना पनि पूरा हुनुवाला छैन ।’
सरकारले केही वर्षयता आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत सेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउने नीति सार्वजनिक गर्दै आएको छ ।
वाइको प्रालिका प्रशिक्षक महर्जनले बैंकखातामा रकम स्वचालित ढंगले घटबढ गर्ने प्रक्रियाका लागि हाल नेपाल इन्भेस्टमेन्ट बैंकको संलग्नतामा परीक्षण भइरहेको जानकारी दिए । ‘परीक्षण सफल भएपछि अरु बैंकसँग पनि यो कार्य अघि बढाउने योजना छ’, उनले थपे ।
यो कार्यले कहिलेसम्म पूर्णता पाउला भन्ने जिज्ञासामा यसबारे आफूले मिति तोकेर भन्न नसक्ने उनको भनाइ थियो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले लगानीकर्ताको माग सम्बोधन गर्न आफूहरुले प्रक्रिया अगाडि बढाइसकेको बताए । बैंक खातामा रकम स्वचालित ढंगले घटबढ हुने प्रणाली विकसित गर्न एउटा बैंकसँग छलफल अगाडि बढिसकेको उनले जानकारी दिए ।
‘अरु बैंकसँग पनि छलफल थाल्ने योजना छ’, उनले सोमबार द नेपालटप डट कमसँग भने । उनले पनि कहिलेसम्ममा यो काम भइसक्ला भन्ने जिज्ञासामा यसै भनिहाल्न नसकिने बताए । ‘प्राविधिक कुरा भएकाले मिति तोकिहाल्न गाह्रो भयो तर हामी सकेसम्म छिटै हुनेगरी अघि बढेका छौं’, उनले थपे ।
स्टक एक्सचेन्जले गत कात्तिक २० गतेबाट अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । हाल यही प्रक्रियाबाट ब्रोकरहरुले लगानीकर्ताका लागि सेयर खरिद बिक्री गर्दै आएका छन् । सुरुमा प्रणाली सहज ढंगले नचल्दा कारोबार नै अवरुद्ध हुन पुगेको थियो ।
हाल केही सुधार भए पनि अझै आवश्यकताअनुसार परिमार्जन हुन नसकेको गुनासो लगानीकर्ताले दोहोर्याइरहेका छन् । उनीहरुले अनलाइन कारोबार प्रणालीमा सुधारको माग राखी नेप्सेमा धर्नालगायतका गतिविधि पनि गरिसकेका छन् ।
लगानीकर्ताले आफैं प्रत्यक्ष संलग्न भएर खरिदबिक्री आदेश प्रविष्ट गर्नेगरी प्रणाली सञ्चालन गर्न माग गरेका छन् । नेप्सेले केही दिनमै लगानीकर्ताको यो माग पूरा हुने जनाएको छ ।