किसान ठग्दै बिचौलिया, खाद्य संस्थान मूकदर्शक



कैलाली : नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले लक्ष्यको ५ प्रतिशत पनि धान खरिद गर्न सकेको छैन । खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले कैलाली जिल्लामा मात्रै ५० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । किसानहरुले धान भित्र्याएकाे ४ महिना बितिसक्दासम्म खाद्य संस्थानले भने ५ हजार ३ सय २७  मात्रै खरिद गरेको जनाएको छ । 

 

जसमध्ये कैलालीको टीकापुरमा ५ सय ५२ क्वीन्टल, सत्तीमा २ हजार ८ सय ७३ क्वीन्टल, मोहनपुरमा १ सय ९१ क्वीन्टल, जोशीपुरमा ५ सय ५ क्वीन्टल र भजनीमा १२०७ क्वीन्टल धान खरिद गरेको अञ्चल कार्यालय धनगढीले जानकारी दिएको छ । 

 

गत वर्ष भने खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले कैलालीमा मात्रै ४५ हजार क्वीन्टल धान खरिद गरेको कार्यालय प्रमुख प्रेम नारायण भण्डारीले बताए । यस वर्ष भने बिचौलियाका कारण लक्ष्य अनुसार धान खरीद गर्न नसकिएको भण्डारीले जनाए । 

 

उनले भने, 'खाद्य संस्थानको काटा नलाग्दासम्म बिचौलियाहरुले किसानहरुबाट सस्तो मुल्यमा धान खरिद गरे', संस्थानको काँटा लागि सकेपछि महगोँ मुल्यमा खरिद गरेको प्रमुख भण्डारीले बताए ।

 

खाद्य संस्थानले समयमा धान खरिद नगर्दा आफूहरुले बिचौलियालाई निकै सस्तो मुल्यमा बिक्री गरेकाे किसानहरुको गुनासो छ । आफूहरुलाई हिउँदे बाली लगाउनका लागि मल तथा इन्धन आवश्यक पर्ने हुँदा आर्थिक अभावका कारण सस्तो मुल्यमा बिचौलिया कहाँ बिक्री गरेको सर्वसाधारणको भनाइ छ ।

 

किसानहरुले १८ सयदेखि २ हजार रुपयाँ प्रतिक्वीन्टल धान बिक्री गरेका थिए । धनगढी उपमहानगरपालिका ६ जालीका बालकृष्ण चौधरी गहुँ तथा तरकारी लगाउन मल खरिद गर्नुपर्ने भएकोले सस्तोमै गल्लामा धान बेचेको बताउँछन् । 

 

तर खाद्य संस्थानले भने मोटो धानको २३ सय ३१ रुपयाँ प्रतिक्वीन्टल र मध्यम धानको २४ सय ६० रुपयाँ सरकारी दर तोकेको थियो । किसानहरुले भदौ अन्तिमदेखि धान भित्र्याएर बिक्री सुरु गरेका थिए, तर खाद्या संस्थानले भने तिहारपछि मात्रै धान खरिद गर्न सुरु गर्‍याे ।

 

सरकारी मुल्य अनुसार किसानका धान खरिद गरी किसानहरुलाई प्रोत्साहन गर्ने नीति सरकारको हो । तर किसानकाे धान खरिद गर्ने एउटा बाहाना मात्रै हुने गरेको छ । धान भित्र्याए लगत्तै किसानले बिक्री सुरु गर्ने भएपनि खाद्य संस्थानले २ महिनापछि धान खरिद प्रक्रिया सुरु गर्ने गरेको थियो । 

जसको फलस्वरुप खाद्य संस्थानले चार महिना बितिसक्दासम्म लक्ष्य अनुरुप धान खरिद गर्न सकेन भने रातदिन पसिना चुहाएर मेहनत गरी उब्जाएको अन्न किसानहरुले सस्तो मुल्यमा बिचौलियालाई बिक्री गर्नु पर्‍याे, सधैंका वर्षझै यस वर्ष पनि कृषिमा आर्थिक क्रान्ति भन्ने नारा नारामै सिमित रह्यो ।

यसरी किसानहरुले रातदिन मेहेनत गरी उब्जाएको खाद्यन्नमा सरकारी पक्षको चरम लापरबाही र बिचौलियाको बिगबिगी भइरहँदा सम्बन्धित पक्ष मौन देखियो ।

प्रतिक्रिया दिनुहोस्