बँदेल ठानेर गोली हान्दा साथीको ज्यान गयो



धरान : आफ्नै साथीले हानेको गोली लागेर धरानमा एक जनाको ज्यान गएको छ । मङ्सिर ६ गते राति सुनसरीको धरान उपमहानगरपालिकाको उदय सामुदायिक वन क्षेत्रमा हतियारसहित सिकार खेल्न जङ्गल गएका धरान उपमहानगरपालिका–१७ का आषीश थापाको साथीले हानेको गोली लागेर मृत्यु भएको हो ।

थापासँग अन्य ६ जना पनि सिकार खेल्न गएका थिए । सिकार खेल्न गएका ६ जना फर्किए तर,  आशीष फर्किएनन् । 

त्यसपछि परिवारले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिए । सोमवार चार कोसे जङ्गलबाट थापाको शव बरामद गरिएको छ । 

थापालाई गोली हानी हत्या गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ परेकाको नाम गोप्य राखिएको छ ।  

सिकार खेल्न गएका बेला जङ्गलका बोट बिरुवा हल्लिएपछि थापालाई बँदेल ठानेर गोली हानिएको थियो । गोली चलेपछि ढलेको बँदेल लिन पुगेका अन्य सिकारीहरू साथी ढलेको देखेपछि घर फर्केका थिए । उनीहरूले घटना लुकाएर बसेका थिए । 

घटनाको १० दिनपछि आइतबार मृतकका भाइले जाहेरी दिएपछि प्रहरीले उनीहरू छ जनालाई पक्राउ गरेको थियो । त्यसपछि थापाको गोली लागेर ज्यान गएको पत्ता लागेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्