आईजीपी खनालले दिए चितवन प्रहरीलाई कडा निर्देशन



काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी लगायतका क्रियाकलापमा रोक लगाउन चितवन प्रहरीलाई कडा निर्देशन दिएका छन् ।

 

सोमबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा आयोजित ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी खनालले यस्तो निर्देशन दिएका हुन् ।

 

‘पर्यटक आन्तरिक हुन् या बाह्य, उनीहरु शान्तपूर्वक बस्न चाहन्छन्।,’खनालले भने, ‘त्यसैले शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्नका लागी पर्यटकिय क्षेत्रमा गुण्डागर्दी गर्ने, लफङ्गा र जथाभावी मोटरसाईकल चलाउने अवान्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन निर्देशन गर्दछु ।’

 

क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले शहर गतिशील हुनुपर्ने तर गतिशीलताको नाममा असभ्यता र अश्लिलता स्वीकार्य नहुने बताए ।

 

अभद्र, अशिष्ट र छाडा कामले नेपालकै इज्जतमा धक्का लाग्ने भएकाले देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउन आईजीपी खनालले आग्रह गरे । सौराहामा प्रहरी पेट्रोलिङका लागि खनालले ७ वटा मोटरसाइकल समेत उक्त अवसरमा हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्