संसद्काे दाेस्राे अधिवेशन सकियाे



काठमाडौं : सङ्घीय संसद्को दोस्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि समापन भएको छ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई बिहीबारसम्म १ सय ३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । 

यसबीच ६९ दिनमा ७९ पटक बैठक बसी १ सय ९३ घण्टा २५ मिनेट संसदीय काम कारवाही भयो । गत जेठ ७ गतेदेखि असार ८ गतेसम्म संसद्को संयुक्त बैठक चार पटक बस्यो । संयुक्त अधिवेशनमा छ घण्टा ५० मिनेट संसदीय कारवाही भयो ।

 

पहिलो अधिवेशनमा गठित नियमावली मस्यौदा समितिले गत वैशाख २३ गते प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि दफावार छलफल भई संशोधनसहित जेठ २५ गतेको बैठकबाट बहुमतले पारित भएको थियो । 

 

चासोका रुपमा हेरिएको “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५”अन्ततः सदनमा पेस भएन । यसअघि सरकारले प्राडा गोविन्द केसीसँग ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो । केसीले सङ्घीय संसद् बैठकमा सो विधेयक पेस नभए आफू पुनः अनशन बस्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्