खोटाङ : सामुदायिक विद्यालय र निजी विद्यालयबीचमा मितेरी साइनो स्थापित गरिएको छ । खोटाङ दिक्तेलको जालपा मावि र विराटनगरको मोडर्न एरा इंलिस बोर्डिङ स्कुलबीच मितेरी साइनो स्थापित गरिएको हो ।
कार्यक्रममा जालपा माविका प्रअ तेजबहादुर राई र मोर्डन एरा बोर्डिङ स्कुलका प्रिन्सिपल रामप्रसाद घिमिरेबीचमा चिनो साटासाट गरेका थिए । पारस्परिकरुपमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि परम्परागत तरिकाले चिनो साटेर दुई विद्यालयबीचमा मित लगाइएको हो ।
मितेरी सम्बन्धमा गाँसिएका विद्यालयलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक थान ल्यापटप प्रदान गरेका छन् ।
विद्यालयबीचमा पारस्परिक सम्बन्ध स्थापित गर्दै गुणस्तरिय शिक्षा, बाल मैत्री शिक्षा, सीप आदान प्रदानका लागि मितेरी साइनो कायम गरिएको जालपा माविका प्रअ राईले बताए ।
मितेरी कार्यक्रम लिएर जालपा पुगेका सामाजिक विकास मन्त्री घिमिरेलाई जालपा माविका प्रअ राई र ज्योति माविका व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले शैक्षिक विकासका लागि छुट्टा–छुट्टै लिखित माग राखेका छन् ।