काठमाडौं : सूचना प्रविधिको क्षेत्रमा निकै ठूलो सङ्ख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने भएकाले यसबाट नेपालले पनि लाभ लिनसक्नु पर्नेमा जोड दिइएको छ ।
प्रविधि पत्रकार मञ्चले आयोजना गरेको ‘सूचना प्रविधि (आइटी) क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रियाका सहभागीहले सूचना प्रविधिका क्षेत्रलाई उद्योगकै रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
विगतमा विभिन्न मन्त्रालयले आइटी क्षेत्रमा रोजगारीको सम्भावना बारे छलफल चलाए पनि त्यसले मूर्त रुप लिन नसकेको अवस्थामा अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसको स्वामित्व ग्रहण गरेर छलफललाई व्यापकता दिनु सकारात्मक भएको धारणा उनीहरुको छ ।
उनीहरुले विदेशमा रहेका नेपाली नियोगमार्फत नेपालको सूचना प्रविधि क्षेत्रका बारेमा ‘ब्राण्डिङ’ गर्नुपर्नेमा जोड दिदैं ‘डिजिटल’ तथ्याङ्क ऐन तत्काल ल्याउन र आइटी बोर्ड गठन गर्न सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौं विश्वविद्यालयका प्रा डा मनिष पोखरेलले सूचना प्रविधि क्षेत्रका कम्पनीले माग गरेका र आगामी दिनमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न त्यसमा आधारित पाठ्यक्रम तयार गरिएको बताए ।
प्रधानमन्त्रीे केपी शर्मा ओलीका प्रविधि विज्ञ अस्गर अलीले नेपालको आइटी क्षेत्रका जनशक्तिलाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिए यसबाट लाखौँ युवा रोजगार हुने बताए ।
सूचना प्रविधिका क्षेत्रमा वार्षिक सात हजार ५०० विद्यार्थीले ग्रयाजुएट गर्ने गरेका छन् । आइटी सेवा प्रदान गर्ने एक हजारभन्दा बढी कम्पनी सरकारी निकायमा दर्ता भएका छन् भने करीब पाँच हजार बढी स्वतन्त्र रुपमा काम गरिराखेको पाइन्छ ।
केही आइटी कम्पनीले तीन सयभन्दा बढीलाई रोजगारी प्रदान गरेका छन् । गत कात्तिक मसान्तसम्म विदेशी लगानीका रु १० करोडभन्दा ठूला दर्ता भएका सात हजार ७ सय ३७ उद्योगमध्ये सूचना प्रविधि क्षेत्रका ४६ उद्योग रहेको उद्योग विभागले जनाएको छ ।