
जनकपुरधाम : यातायात व्यवस्था कार्यालयको प्रमुख कामकाज बर्दिवास सार्ने चलखेल सुरु भएको छ। भौतिक पूर्वाधार एवं यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ निर्वाचित भएका धनुषा क्षेत्र नम्बर ४ जनकपुरधाम-१४ मुजेलियास्थित यातायात व्यवस्था कार्यालयको मुख्य कामकाज बर्दिवास सार्न लागिएको हो।
प्रदेश सरकारले जनकपुरस्थित यातायात कार्यालय आफू मातहत ल्याउन पहल गरी रहेको अवस्थामा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यालय बर्दिवास सार्न चलखेल सुरु गरेको स्थानीयले आरोप लगाएका छन्।
मन्त्री महासेठकै आन्तरिक चलखेलका कारण यातायात कार्यालयका प्रमुख कामकाज बर्दिवास सार्न लागिएको भन्दै सर्वसाधारणहरुले विरोध गरेका छन्। उनीहरुले सोमबार कार्यालय घेराउ गरी दुई घण्टा कामकाज ठप्प पारेका छन्। संघीय सरकारले प्रदेश सरकार मातहत आइसकेको यातायात कार्यालयलाई पंगु बनाउने षड्यन्त्र गरेको उनीहरुको आरोप छ।
जनकपुरकै शाखा कार्यालयको रुपमा रहेको बर्दिवासस्थित यातायात कार्यालयलाई दैनिक ३ सय ६० थान सवारी चालक अनुमतिमपत्र जारी गर्न यातायात व्यवस्था विभागले अनुमति दिएको छ। तर, यसअघि दैनिक पाँचसय सवारी अनुमतिपत्र जारी गर्दै आइरहेको जनकपुरस्थित कार्यालयलाई दुई पांग्रे तथा चार पांग्रे गरी दैनिक जम्मा १८० सवारी अनुमतिपत्र जारी गर्न स्वीकृति दिइएको छ।
जनकपुर कार्यालयले वितरण गर्दै आइरहेको सवारी अनुमतिपत्रको कोटा घटाइएपछि कार्यालयको प्रमुख कामकाज बर्दिवास सार्ने चलखेल भइरहेको रहस्य सार्वजनिक भएको हो।
जनकपुर कार्यालयका निमित्त प्रमुख अजिम मन्सुरले पनि सवारी अनुमतिपत्रको कोटामा कटौती गरिएको स्वीकार गरेका छन् । सवारी अनुमतिपत्रको कोटा कटौती गरिए पनि कार्यालय सर्ने हल्ला निराधार रहेको उनको दाबी छ।