बंगलादेश गोरु लैजाने तस्करका सात मोटरसाइकलमा आगजनी



दाङ : पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर देशबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको छ । पछिल्लो समय दाङको देउखुरीमा अप्रत्याशित रुपले गोरुको कारोबार बढेको छ ।

 

गाउँबाट गोरु खरिद गर्ने, एक ठाउँमा जम्मा पार्ने र ट्रकमा लोड गरेर अन्यत्र लैजाने क्रम बढेको छ । खेत जोत्न खरिदबिक्री गर्ने कागज बनाएर मासुका लागि तेस्रो मुलुकमा गोरु गरिएको छ । प्रहरी, प्रशासनसँगको सेटिङमा दाङ, बाँके, बर्दियाबाट बढी मात्रामा गोरु तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

 

यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो । गोरु ओसारपसारमा संलग्न व्यक्तिले लमहीमा रहेका गोरु कारोबारका प्रमुखलाई विवादबारे जानकारी गराएका थिए । त्यसपछि ९ वटा मोटरसाइकलमा २७ जना युवा घटनास्थल पुगेका थिए । उनीहरु गाउँमा पुगेपछि स्थानीय युवासँग झडप भएको थियो । झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीका मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका समाचारपत्रमा खवर छ ।

 

प्रहरीले दुईवटा मोटरसाइकल भने सकुशल फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गर्न डीएसपी रामप्रसाद घर्तीलाई जिम्मेवारी दिएको छ । डीएसपी घर्तीले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्ने बताए । मोटरसाइकलमा सवार लमही नगरपालिका–५ लमही निवासी अर्जुन गुप्तालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्