नेकपाका १ हजार ३८६ नेताले पाए जिम्मेवारी



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटी निर्माणसँगै १ हजार ३८६ नेताले जिम्मेवारी पाएका छन् । सोमबार पार्टीले प्रदेश कमिटीको नामावली सार्वजनिक गरेपछि नेकपाको प्रदेश कमिटीले पूर्णता पाएको छ ।

 

नेकपा महासचिव विष्णु पौडेलले प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरेका हुन् । तत्कालीन नेकपा (एमाले) र एकीकृत नेकपा (माओवाद केन्द्र) बीच पार्टी एकता भएको ६ महिनापछि प्रदेश कमिटीको टुंगो लागेको हो ।

 

५ असोजमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीका पदाधिकारी चयन गरेको थियो । पार्टीले सातै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेपछि सदस्यहरूको नामावली सार्वजनिक गरेको हो ।

 

१२ मंसिरमा बसेको पार्टी सचिवालय बैठकले सातवटै प्रदेश कमिटीको सदस्यको टुंगो लगाएको हो । तर, पाँच दिनपछि मात्रै सार्वजनिक गरेको छ । लामो गृहकार्यपछि प्रदेश कमिटीका सदस्यहरूको नामावली टुंगो लागेको महासचिव पौडेलले बताए ।

 

नेकपाले सार्वजनिक गरेको नामावलीअनुसार सातै प्रदेश कमिटीमा नेताले जिम्मेवारी पाएका छन् । कमिटीमा तत्कालीन एमालेका ७४७ नेता छन् भने माओवादी केन्द्रका ६४७ जना नेता छन् ।

 

प्रदेश १ मा २०७ सदस्यीय कमिटी घोषणा गरिएको छ । यस प्रदेशमा एमालेका १२२ र माओवादी केन्द्रका ८५ जना नेता रहेका छन् । प्रदेश २ मा २१५ सदस्यीय कमिटी घोषणा भएकोमा एमालेका १०६ र माओवादी केन्द्रका १०६ तथा पार्टी एकतापछि विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका तीन जना परेका छन् ।

 

प्रदेश ३ मा २१७ सदस्यीय कमिटी घोषणा भएको छ । एमालेका ११६ र माओवादी केन्द्रका १०१ नेता प्रदेश ३ कमिटीमा परेका छन् । गण्डकी प्रदेश १८७ सदस्यीय घोषणा भएकोमा एमालेका १०२ र माओवादी केन्द्रका ८५ जना नेताले जिम्मेवारी पाएका छन् ।

 

प्रदेश ५ मा २०३ सदस्यीय कमिटी घोषणा भएको छ । यस प्रदेशमा एमालेबाट १०६ र माओवादी केन्द्रबाट ९७ जना नेताले जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशमा १७५ सदस्यीय कमिटी घोषणा भएकोमा एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना नेताले जिम्मेवारी पाएका छन् । यसैगरी, सुदूरपश्चिम प्रदेश कमिटी १८३ सदस्यीय घोषणा भएकोमा एमालेबाट सय र माओवादी केन्द्रबाट ८३ जना नेताले जिम्मेवारी पाएका छन् ।

 

एमालेले तात्कालीन प्रदेश कमिटी, जिल्ला संयोजक रहेकालाई प्राथमिकता दिएको छ । यसैगरी, माओवादी केन्द्रले केन्द्रीय आयोजक कमिटी, प्रदेश कमिटी तथा केन्द्रमा समेटिनुपर्ने तर छुटेका नेतालाई प्रदेश कमिटीमा सिफारिस गरेको छ । प्रदेश कमिटीका सदस्यहरूको नामावली नयाँ मापदण्ड एवं विधिबाट चयन गरिएको पार्टीले जनाएको छ ।

 

पार्टी एकतासँगै ४४१ सदस्यीय केन्द्रीय कमिटी घोषणा भइसकेको छ । केन्द्रीय र प्रदेश कमिटीको टुंगो लागे पनि पोलिटब्युरो कमिटीको टुंगो लाग्न बाँकी नै रहेको छ । यसैगरी, केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँट, जिल्ला, निर्वाचन क्षेत्र कमिटी, स्थानीय तह कमिटीका साथै जनवर्गीय संगठनको एकता टुंगो लाग्न अझै बाँकी नै रहेको छ ।

 

कैदीलाई पनि जिम्मेवारी

नेकपाले सार्वजनिक गरेको प्रदेश कमिटी सदस्यहरूको नामावलीमा जेल जीवन बिताइरहेका कैदीलाई पनि समेटिएको छ । हिन्दू परिषद् नेपाल पर्साका तत्कालीन अध्यक्ष काशी तिवारीको हत्यामा अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका सियाराम कुशवाहालाई पनि प्रदेश २ कमिटीको सदस्य घोषणा गरिएको राजधानीमा खवर छ । कुशवाहा कटहरिया नगरपालिका रौतहटका निर्वाचित नगरप्रमुखसमेत हुन् । तत्कालीन माओवादीका भूमिगत नेता कुशवाहा अहिले डिल्लीबजार जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्