एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित रहस्यपूर्ण



काठमाडौं : विवादास्पद मानिएको एनसेल सेयर खरिदबिक्री लाभकर मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्च अदालतमा सोमबार दोस्रोपटक रहस्यपूर्ण रूपमा स्थगित भएको छ।

 

सर्वोच्च अदालतका पाँच न्यायाधीश रहेको पूर्ण इजलासमा अन्तिम सुनुवाइ भइरहेको सो मुद्दा हेर्दाहेर्दैको अवस्थामा थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेसी सूचीबाटै सो मुद्दा स्थगित गरेका हुन् ।

 

‘अन्तिम सुनुवाइको अवस्थामा रहेको र त्यसमाथि पनि हेर्दाहेर्दैको मुद्दा दैनिक पेसी सूचीबाटै स्थगित हुनुलाई स्वाभाविक मान्न सकिँदैन।’ असोज १८ देखि एनसेल लाभकर विवादको सो मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो भने मंसिर १३ मा पाँचमध्ये एक न्यायाधीश अनुपस्थित हुँदा मुद्दा स्थगित भएको थियो । सोमबारसमेत एक न्यायाधीश बिदा बस्दा सुनुवाइ स्थगित भएको अदालत सूत्रको बुझाइ छ ।

 

प्रधानन्यायाधीश मिश्रको कार्यकाल पुस १७ गते सकिँदै गर्दा सो मुद्दा जतिसक्दो चाँडो सकाउने उद्देश्य राखेर केही बिचौलियाहरू सक्रिय रहेको पनि बताइएको छ । उनीहरू जतिसक्दो चाँडो फैसला गराउनमा चलखेल गरिहेका छन् । ‘गम्भीर आर्थिक महत्व राख्ने मुद्दामा बिचौलियाहरूले मुद्दा हटाउने वा समयमै सुनुवाइ गराउन भूमिका खेल्ने गरेका छन्,’ स्रोतको दाबी छ, ‘यो मुद्दा पनि बिचौलियाहरुको पकडमा रहेकाले उनीहरू चलखेल गरिरहेको स्पष्टै देखिन्छ।’

 

सर्वोच्च अदालतको आदेशपछि २४ अर्ब रुपैयाँ विदेश गइसकेको छ भने एनसेलले रिट दायर गरेपछि सर्वोच्चले कर असुल नभए पनि अन्तरिम आदेशमार्फत पैसा विदेश लैजान बाटो खुला गरिदिएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्