रसुवा : रसुवाको दक्षिणी भेगका किसानले विद्यमान भूमिसम्बन्धी समस्या समाधान गराउन माग गर्दै बिहीबार र्यालीसहित प्रदर्शन गरेका छन् ।
रसुवाको कालिका गाउँपालिकाका अधिकांश किसानले कृषि उपज र औजारसहित बृहत् प्रदर्शन गरेका हुन् । गाउँपालिकाभित्र बिर्ता र सुकुमबासी समस्या समाधानको लागि जिल्ला भूमि अधिकार मञ्च र कालिका गाउँपालिकास्तरीय भूमि अधिकार मञ्चको अगुवाइमा यस्तो आन्दोलन भएको हो ।
जिल्ला भूमि अधिकार मञ्चको कार्यालय भूमिघरदेखि कालिकास्थान बजारक्षेत्र परिक्रमा गरी आफ्ना नारासहित कृषि गाउँपालिका कार्यालयमा पुगेर गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेल अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठ र वडाध्यक्षहरूलाई ज्ञापनपत्र पेश गरिएको हो । यस क्रममा किसानले आफूहरु वर्षौँदेखि भुमिसम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे ।
ज्ञापनपत्रमा स्थानीय सबै किसानले हस्ताक्षर गरेका थिए । भूमि अधिकार मञ्चले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले चुनावमा भूमिसम्बन्धी सबै समस्या समधान गर्ने बाचा गरेको, उनीहरूको चुनावी घोषणापत्रमा पनि यस्तो समस्या समाधान गर्ने उल्लेख गरेको भए पनि हालसम्म भूमिसम्बन्धी कुनै समस्या हलकाे प्रक्रिया थालनी नगरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
पछिल्लो समय बिर्ता जग्गा आफ्नो बनाउन र केही व्यक्तिले खरिद गरी नयाँ जग्गाधनी बन्ने गतिविधि बढ्न थालेकाे प्रति किसानले शंका गर्न थालेका छन् ।
साथै यस्तो समस्या सल्टाउन गाउँपालिका स्तरबाटै पहल गरिनुपर्ने किसानको माग छ । ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले चुनावमा गरेको बाचाअनुसार भूमिसम्बन्धी सम्पूर्ण समस्या प्रदेश सरकारसँग समन्वय गरी समाधान गरिने आश्वासन दिइन्।