बर्दिवास: महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । नेपाल परिवार नियोजन संघका परियोजनाका प्रमुख धिरज पौडेलले रक्तपरीक्षणका क्रममा सङ्क्रमितहरुको पहिचान खुलेको बताए ।
सन् २०१३ देखि गत सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्ने क्रममा संक्रमितको पहिचान भएको पौडेलले बताए ।
संक्रमितमध्ये वैदेशिक रोजगारीबाट फर्किएकाहरु धेरै रहेको संघले जनाएको छ । “सङ्क्रमित ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केको पाइएको छ,” उनले भने । सङ्क्रमितमध्ये पाँच बालबालिका छन् । “सङ्क्रमित बढीजसो भारत र मलेशियाबाट फर्केकाहरु छन्,” पौडेलले भने ।
यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।