जलवायु सम्मेलनमा राष्ट्रपति भण्डारीको सम्बोधन



पोल्याण्ड: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताएकी छिन् । पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो विषयमा नेपाली जनतालाई न्याय दिने कुरा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले काम गर्नुपर्ने बताइन् ।  

 

नेपाल हिमालय, पहाड र तराईयुक्त अतिकम विकसित राज्य भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको जानकारी दिँदै नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको र नदीघाटी प्रणाली नकारात्मक रुपमा प्रभावित भएको उल्लेख गरिन् ।

 

उनले भनिन् ‘‘हिमपहिरो, बाढीपहिरो र सुखापना पहिलेभन्दा अझै नकारात्मक भएको छ । पहाडमा भूक्षय तथा पहिरो बढिरहेको छ । प्राकृतिक स्रोतमा अप्राकृतिक प्रभाव पर्दा ग्रामीण जलप्रणालीमा अवरोध आएको छ । प्रकोपबाट सिर्जना हुने समस्या समाधान गर्न हामी आफ्नो राष्ट्रको आयमा ठूलो राशि व्यहोर्न बाध्य भएका छौँ । नेपालको प्रमुख उत्पादनशील भूमि बाढी र डुबानबाट निरन्तर प्रभावित भएको छ । यसले कृषि क्षेत्रमा प्रमुख प्रभाव पारेको छ ।’’

 

राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपले प्रत्यक्ष रुपमा महिला तथा स्थानीय जनतामा प्रभाव पारेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि घण्टौँ लगाएर पानी बोक्नु परेको ग्रामीण महिलाको कठिनाइ आफूले अनुभव गरेको बताएकी थिइन् ।  

 

उनले सगरमाथालगायत हिमालले स्वच्छ हावा र सफा पानी निरन्तर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै वातावरण सफा र मौसमलाई नियमित बनाइराख्न हिमाल र समुद्रको विशेष महत्व रहेकामा जोड दिइन् । ‘‘यी हिमाल विस्तारै बग्ने भए पनि यसले भूमिलाई सिँच्छ । यो पानी सङ्कलन प्रणालीले पृथ्वीको तापक्रम नियन्त्रण गर्न महत्वपूर्ण रुपमा सहयोग गरेको छ । यस प्राकृतिक अवस्थाको मूल्यलाई उच्च कार्बन उत्पादन गर्ने विकसित मुलुकले बुझ्नुपर्छ । उनीहरुले हिमाली मुलुकमा वातावरण बिग्रन नदिने कुरा सुनिश्चित गर्नुपर्छ’’, उनले भनिन् ।

 

राष्ट्रपति भण्डारीले नेपालले नवीकरणीय ऊर्जा विकास तथा विद्युतीय सवारी साधनको प्रबद्र्धन गर्न विशेष प्रयास गरेको र नमूना परियोजना तयार तथा कार्यान्वयन गरी राष्ट्रियस्तरमा उपयोगी एवं न्यूनीकरणीय उपायका कार्ययोजनामार्फत नेपालले जलवायु परिवर्तनका जोखिम कम गर्न प्रयास गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्