अझै अफ्ठेरोमा बार्यन, क्लब छाड्दै दुई हस्ती



एजेन्सी : बार्यन म्याुनिखका लागि १० वर्षदेखि अनवरत खेल्दै आएका नेदल्यान्ड्सका मिडफिल्डर आर्जेन रोबेनले म्युनिखसँगको यात्रामा पूर्णविराम लगाउने भएका छन् । 

 

सिजनको अन्त्यसँगै उनको क्लबसँगको एक दशकको यात्रा ट्ंग्याउने लगभग निधो गरेका छन् । ३४ बर्से रोबेन सन् २००९ मा रियल म्याड्रिडबाट बायर्न पुगेका थिए । बायर्नका लागि ३ सय ५ खेल खेल खेलेका उनले १ सय ४३ गोल गरे ।

 

उनकै उत्कृष्ट प्रदर्शनका कारण नेदरल्यान्ड्स सन् २०१० मा फाइनलसम्म पुगेको थियो । म्युनिखमा रहँदा उनले ७ पटक बुन्डेस लिगा, ४ पटक डीएफबी पोकल ट्रफी र सन् २०१३ मा च्याम्पियन्स लिगसमेत जिताएका थिए । 

 

‘बायर्नका लागि यो मेरो अन्तिम वर्ष हो’, रोबेनले भनेका छन्, ‘यो १० वर्ष मेरो र क्लबका लागि निकै उत्कृष्ट रह्यो । अब भने छोड्ने समय आएको छ ।’ टोलीका अर्का मिडफिल्डर ३५ बर्से फ्रान्क रिबेरीले पनि आफूले क्लब छाड्न लागेको बताएका छन् । उनले पनि यो सिजनलाई आफ्नो अन्तिम वर्ष भनेका छन् । यसै सिजनको अन्त्यतिर उनीसँगको क्लबको सम्झौता पनि सकिँदै छ । 

 

प्रशिक्षक निको कोभाकको नेतृत्वकै कारण बायर्न संक्रमणबाट गुज्रिरहेको भन्ने आरोप आइरहँदा विश्व फुटबलका यी दुई महान् खेलाडीले क्लब छाड्दा बार्यन केही समय निकै अप्ठ्यारो पर्ने देखिन्छ ।

 

पछिल्ला वर्ष बुन्डेसलिगामा सधैं दबदबा कायम राख्दै आएको बार्यन यस वर्ष निकै खराब अवस्थामा छ । उसले १३ खेल सक्दा शीर्षस्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले पछि पर्नुपरेको छ । तर, टोली यो सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा भने पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्