निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा काङ्ग्रेसकाे छलफल



काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ ।  यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौँदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

 

सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेका पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । विधान संशोधन मस्यौँदा समितिका संयोजक एवम् महामन्त्री पूर्णबहादुर खड्काले मङ्सिर ९ गतेको बैठकमा उक्त मस्यौदा पेश गरेका थिए । 

 

मस्यौँदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गुट उपगुट अन्त्य गर्न बहुपदमा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिएका छन् । बैठकमा हालको पदाधिकारी संख्या यथावत राख्नुपर्ने र केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्नेमा छलफल जारी छ । संस्थापन पक्ष हालको पदाधिकारी संख्या यथावत राख्नुपर्नेमा पक्षमा देखिन्छ ।

 

संस्थापन ईतर पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने पक्षमा छ । प्रस्तावित विधानमस्यौदमा पदाधिकारी संख्या र निर्वाचन सम्बन्धी फरक मतलाई पनि उल्लेख गरी केन्द्रीय समितिमा पेश गरिएको छ । 

 

प्रस्तुत मस्यौँदा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको छ । हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्