
एजेन्सी : इन्धनको मूल्य बढेको भन्दै प्रदर्शनमा उत्रेका फ्रान्सेली नागरिक सामु त्यहाँको सरकार झुकेको छ । उसले बढाइएको इन्धनको मूल्य फिर्ता लिने बताएको छ । सरकारले इन्धनमाथि लाग्दै आएको कर बढाएपछि झण्डै तीन हप्तादेखि फ्रान्समा प्रदर्शन हुँदै आएको थियो ।
यस क्रममा ८० वर्षकी एक महिलासहित चारजनाको ज्यान गएको छ । मूल्यवृद्धि विरुद्ध हज्जारौँ श्रमिक सडकमा उत्रिएका थिए ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । त्यो छलफलपछि एक मन्त्रीले सरकार प्रदर्शन नियन्त्रणमा लिन आपतकाल लगाउनेसहित विकल्प खुला रहेको बताएका थिए । तर सरकारले इन्धनमाथि बढाइएको कर नै फिर्ता लिएको हो ।